विराटनगर, ११ पुस । टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो छ ।
कृषि पेशा पढे–लेखेका युवाको अन्तिम विकल्प हो भन्ने सोच पनि गहिरोसँग जरा गाडेर बसेको छ तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै चलचित्रको दृश्य होइन, कृषिको सम्मानजनक, आधुनिक र सम्भावनायुक्त भविष्यको स्पष्ट परिकल्पना हो ।
सचेतता कृषि सहकारी संस्थाका संस्थापक रहेका थापा लामो समयदेखि किसानलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि निरन्तर प्रश्न उठाइरहेकाछन् । उनको दृढ विश्वास छ, किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम हुनुहुँदैन । उनी भन्छन्, “कृषि पेसा बाध्यता होइन, गर्वको पेसा बन्नुपर्छ । माटोसँग जोडिनु कमजोरी होइन, बरु आत्मनिर्भरता, स्वाभिमान र सम्मानको प्रतीक हो ।” यही सोच बोकेर उनी कृषिको व्यवसायीकरण र प्रविधिकरणको यात्रामा अघि बढिरहेकाछन्, जसको एउटा सशक्त माध्यम बनेको छ सचेतता कृषि सहकारी ।
युवालाई कृषिमा आकर्षित गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित उहाँको नेतृत्वमा २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता भएको हो । मुलुकमा सङ्घीयता लागू भइसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको उनको दाबी छ । सहकारीलाई सहकारीकै मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्ने विषयमा उनी अडिग देखिन्छ । कृषि सहकारी भनेर दर्ता भए पनि धेरै संस्थाले बचत तथा ऋणको कारोबारमै आफूलाई सीमित राखेको देख्दा उनी असन्तुष्टि जनाउछन् । उनी भन्छन्, “सहकारीको मूल आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ, नकि केबल ब्याजदर र ऋण असुलीमा ।”
लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ । हिमाल, पहाड र तराईका फरकफरक भूगोलमा किसानका समस्या, सम्भावना र सीमा नजिकबाट देखेको यो अनुभवले उनलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो, किन कृषिमा यत्रो सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता यसबाट टाढिदै गयो रु किन कृषकलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन रु किन कृषि अझै पनि ‘अन्तिम विकल्प’ जस्तो बनिरह्यो रु यही प्रश्नको उत्तर खोज्ने क्रममा उहाँले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र नयाँ प्रविधिसहितको कृषि अवधारणाको कल्पना गर्न थाले ।
त्यो सोच व्यवहारमा उतार्ने निर्णायक क्षण भने कोभिड–१९ को बन्दाबन्दीसँगै आयो । २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी सुरु भएपछि सहरका भान्सामा हरियो तरकारीको अभाव देखिन थाल्यो । अन्य खाद्यान्नजस्तो लामो समय भण्डारण गर्न नमिल्ने भएकाले तरकारी सङ्कट आउनु स्वाभाविक थियो । बजार सुनसान थिए, यातायात ठप्प थियो, तरकारीको मूल्य आकासिँदै थियो । त्यहीबेला चैत १५ गते एक बिहान घरको कौशीमा हावा खान निस्कँदा लोकेन्द्रको मनमा एक्कासी एउटा विचार आयो अब यो कौशी खाली राख्ने होइन, यहीँ खेती गर्नुपर्छ ।
विचार सहज थियो तर व्यवहार जटिल । कौसीखेती भन्ने कुरा सुन्नेबित्तिकै धेरैले हाँसे, केहीले असम्भव ठाने । धेरैले उनले देखाएको कौशीखेतीको सम्भावनालाई नपत्याएपछि आफ्नै कौसीबाट सुरु गर्ने निर्णय गरे । उनले कृषि विज्ञहरूसँग परामर्श लिए, कौशीखेतीसम्बन्धी पुस्तकहरू अध्ययन गरे, माटोको मिश्रणदेखि पानीको व्यवस्थापनसम्मका विषयमा सानासाना प्रयोग सुरु गरे ।
सुरुका दिन सहज थिएनन् । उपयुक्त माटोको अभाव, मलको सन्तुलन, किराको प्रकोप, गर्मीका कारण बारम्बार पानी हाल्नुपर्ने बाध्यता र धेरै बिरुवा मर्ने अवस्थाले कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा निराशा पनि थप्यो तर असफलतामै रोकिने उहाँको स्वभाव थिएन । बाँचिरहेका बिरुवाबाटै नयाँ बिरुवा तयार गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने प्रक्रियाले उहाँलाई थप ऊर्जा दियो । केही समयपछि कौशीमा हरियो तरकारी लहलहाउन थाल्यो ।
आफ्नै कौशीबाट उत्पादन भएको तरकारी भान्सामा पुग्यो, त्यो केबल तरकारी मात्र थिएन त्यो आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको स्वाद थियो । हरियो तरकारीको अभाव मात्र हटेन, अग्र्यानिक स्वादले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थाल्यो । यही अनुभवले उनलाई थप उत्साहित बनायो र कौशीखेतीलाई अझ विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र प्रयोगको बाटो खोल्यो ।
बन्दाबन्दीको दुई–तीन महिनापछि उनको कौशीमा उत्पादन भएका तरकारी बाहिरबाटै देखिन थाले । बिहान–बेलुका घरको बाटो भएर हिँड्ने मानिस, छिमेकीहरू रोकिएर जिज्ञासा राख्न थाले कसरी गर्ने रु कति खर्च लाग्यो रु हामीले पनि गर्न सक्छौँ रु यही चासोले हिजो बाबुबाजेले गर्दै आएको परम्परागत खेती र आजको युवा पुस्ताले गर्नसक्ने आधुनिक, प्रविधियुक्त खेतीबारे छलफल र बहस सुरु गरायो । लोकेन्द्रको घरको कौशी सहरभित्र कृषि सम्भावनाबारे संवाद हुने एउटा सानो केन्द्र जस्तै बन्न थाल्यो ।
आफूले सुरु गरेको कौसीखेती तीन महिना पुग्दानपुग्दै परिवारलाई पुग्ने तरकारी उत्पादन हुन थालिसकेको उनी सुनाउँछन् । “त्यो बेलाको सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नै पसिनाले उब्जाएको तरकारी खाँदा पाइने सन्तुष्टि, आनन्द र मानसिक शान्ति थियो”, उनी भन्छन्, “यो अनुभूति आफूमा मात्र सीमित राख्नु हुँदैन भन्ने सोच झन बलियो हुँदै गयो । यो अनुभव समुदायमा कसरी लैजान सकिन्छ रु भन्ने प्रश्नले उनलाई निरन्तर घच्घच्याइरह्यो । त्यही खोज, निरन्तर छलफल र विचारविमर्शको परिणामस्वरूप सचेतना कृषि सहकारीको अवधारणा जन्मिएको लोकेन्द्र बताउँछन् ।
कोभिड महामारी सुरु हुनुअघि नै भूकम्पपछिको पुनःस्थापना अवधिमा गैरसरकारी संस्थामार्फत झुम्का कृषि तालिम केन्द्रमा कोशी प्रदेशका १४ जिल्लाका सहभागीहरूसँग सहजीकरण गर्ने क्रममा उनले वैदेशिक रोजगारीबाट फर्किएका करिब २५० भन्दाबढी युवासँग कृषिसम्बन्धी धारणा र सोचबारे संवाद गरेका थिए । त्यतिबेला युवाको सोच बुझ्दै जाँदा कृषिलाई कार्यालय संस्कृतिसँग र किसानलाई अधिकृतसरहको जीवनशैलीसँग जोड्नसके युवा पुस्तालाई देशमै त्यो पनि कृषि क्षेत्रमा रोक्न सकिन्छ भन्ने दृढ विश्वास उनीभित्र विकास भयो ।
व्यक्तिगत रूपमा सुरु गरिएको कौशीखेतीलाई व्यापक बनाउने उद्देश्यले सहकारीको संरचना अघि आएको हो । हाल उनले आफ्नो घरको छत र थोरै जग्गामा विभिन्न किसिमका तरकारी उत्पादन गरिरहेकाछन् । नयाँनयाँ प्रविधिको प्रयोग गरेर खेती गर्छन् । कौशीखेती गर्न चाहनेलाई निःशुल्क तालिम दिन्छन्, थोपा सिँचाइ प्रणाली सिक्न चाहनेलाई व्यावहारिक रूपमा सिकाउँछन् । “आफूले सिकेको सीप सबैसँग बाँड्नुपर्छ”, लोकेन्द्र भन्छन्, “त्यसरी मात्रै सामूहिक परिवर्तन सम्भव हुन्छ ।”
भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा धेरै हुने यथार्थप्रति उनी गहिरो चिन्ता ब्यक्त गर्छन् । सस्तो र सजिलोका नाममा हामीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरिरहेको उहाँको ठम्याइ छ । “मेरो चाहना हो, कसैको भान्सामा विषादी नपुगोस्”, उनी भन्छन्, “त्यसका लागि सहकारीमार्फत उत्पादन र उपभोगलाई जोड्ने प्रयास गरिरहेका छौं ।” हाल सहकारीमा करिब १५० जना शेयर सदस्य आबद्ध भइसकेका छन् । उत्पादन, तालिम र चेतनामार्फत विस्तारै सहकारीको उद्देश्य पूरा हुँदै जानेमा उनी आशावादी छन् ।
उनका अनुसार आधुनिक कृषिमा ठूलो चुनौती भनेकै उन्नत बीउको उपलब्धता र त्यसको विश्वसनीयता हो । खेती गर्ने कृषि क्यालेन्डरबारे ज्ञानको अभाव, प्रविधिसँग अपरिचित हुनु र कृषि पेसालाई हेर्ने नकारात्मक सामाजिक दृष्टिकोण पनि मुख्य समस्या हुन् । तर यिनै चुनौतीलाई अवसरमा बदल्न सकिए कृषिले नया उचाइ लिने लोकेन्द्रको विश्वास छ । कृषि कार्यले केबल पेट भर्ने मात्र होइन, बिरुवा र माटो थेरापीमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुधारमा योगदान पु¥याउँछ । “कौशीखेती उत्पादनको माध्यम मात्र होइन, तनाव व्यवस्थापन र आत्मिक सन्तुलनको बलियो आधार पनि हो”, उनी भन्छन् ।
शिक्षा मन्त्रालयले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा ‘करेसाबारी’ पाठ समावेश गरिनुले कृषि शिक्षाको महत्व बुझिन थालेको सङ्केत भएको उनी मान्छन् । केही समयअघि विराटनगर–१ स्थित राधाकृष्ण विद्यालय, जेम्स स्कुललगायतका विद्यालयमा कौशीखेती र करेसाबारीबारे व्यावहारिक ज्ञान दिन छलफल गर्दा सुरुमा अपेक्षित प्रतिक्रिया नआए पनि अहिले विराट बहिरा स्कुल निकै सकारात्मक देखिएको र छलफल अघि बढिरहेको लोकेन्द्र सुनाउँछन् ।
कौशीखेतीले सहर सफा र सुन्दर बनाउन पनि सहयोग पु¥याउने उनको धारणा छ । सहरका प्रत्येक परिवारले कौशीखेती वा करेसाबारी अपनाएमा मल र जैविक विषादीका लागि सडक किनारका झारपात प्रयोग गर्न सकिने उनको अनुभव छ । लोकेन्द्र थापाको सपना एउटै छ, जब कुनै युवाले टाई–सुटमै खेतबारीमा काम गरिरहेको किसान देखोस् र उसको मनमा पनि कृषि पेसा रोज्ने हुटहुटी जागोस् । किसानको जीवनशैली देखेर कृषि भविष्यको पेसा हो भन्ने अनुभूति होस् । विराटनगरबाट सुरु भएको यो सोचले आज कृषिको नयाँ कथा लेख्न थालेको छ, जहाँ माटो, प्रविधि र सम्मान एउटै धरातलमा उभिएका छन् । रासस