देशका सबै शहरका उपभोक्ता रैथाने कृषि उपज प्रति विस्तारै आकर्षण हुन थालेका छन् । रैथाने बालीको आकर्षण र मागको तुलनामा उत्पादन भने बढेको छैन । बरु घट्दो क्रममा छ । रैथाने बाली प्रवद्र्धनमा सरकारको पहल देखिए पनि जुन पर्याप्त छैन । स्थानीय कृषकले परम्परागत रूपमा रैथाने बालीको खेती गरी संरक्षण गर्दै आएका बालीलाई सामान्य अर्थमा रैथाने बालीका रूपमा लिने गरिन्छ । जुन बालीहरु आधुनिक खेती पद्धतिमा आधारित प्रचलित बाली प्रणालीमा कम समावेश भएका छन्, वा कम खेती गरिन्छन्, साथै तिनको बहुआयामिक फाइदा र उपयोगबारे खोज एवं अनुसन्धानलाई पनि कम प्राथमिकता दिइएका कारण यस्ताबाली एवं तिनका जातहरू लोप हुने खतरामा समेत रहेका छन् ।
खाद्यान्न अभावको तत्कालीन विश्व परिस्थितिमा एकल बालीलाई प्राथमिकता दिइनु अस्वाभाविक नभए पनि उत्पादन बढाउन रासायनिक मलखाद र कीटनाशकको अधिक प्रयोगले मानव स्वास्थ्य एवं वातावरणमा प्रतिकूल असर पार्न थाल्यो । त्यसपछि सन् १९८० को दशकदेखि फेरि जैविक र रैथानेकै पक्षमा आवाज उठ्न शुरू भएको थियो र अहिले यसको अझै बढी चर्चा र खोजीसमेत हुन थालेको छ । नेपाल कृषि जैविक विविधतामा समेत अब्बल छ । विश्वका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता छ । कृषि महत्वका जीवजन्तु र वनस्पतिजन्य विविधतालाई कृषि जैविक विविधता भनिन्छ, जुन आनुवंशिक, प्रजातिगत र पारिस्थितिक तहमा बाँडिएका हुन्छन् । त्यस्तै, नेपालमा कृषि बाली, घाँसे बाली, पशुपन्छी, जलचर, कृषि महत्वका कीरा र सूक्ष्म जीव गरी ६ प्रकारका विविधता रहेका छन् ।
कृषि जैविक विविधताले माटोलाई स्वस्थ राख्ने र माटोलाई पुनः र्जीवन दिनुका साथै परागसेचनका माध्यमले ८० प्रतिशत भन्दा बढी बालीको उत्पादनमा प्रत्यक्ष योगदान पुर्याइरहेका मौरी, पुतली आदिको बासस्थानको व्यवस्था, प्रजनन तथा विस्तारलाई सघाउँछ । कृषि पर्यावरणीय चक्र भत्किँदा आधुनिक खेती प्रणालीका नकारात्मक अभ्यास र अन्य मानवसिर्जित कारणले समग्र जैविक विविधता ह्रास हुँदै गएको छ । रैथाने कृषि जैविक विविधतामा पर्ने अन्न, घाँसे बाली, पशुपन्छी, जलीय कीट र सूक्ष्म जीवाणुजन्य आनुवंशिक स्रोत जोगाउन पनि रैथाने जात संरक्षण गर्नुपर्ने वैज्ञानिकहरुको तर्क छ । रैथाने बालीको महत्व खाद्य सुरक्षा, पोषणदेखि स्वस्थ जीवनयापनसम्म छ । कोदोजन्य पदार्थमा कार्बोहाइड्रेटको अलावा प्रोटिन, फाइबर, भिटामिनको साथै क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता पाइन्छ, जसले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्नबाट बचाउन सक्ने र लागे पनि सन्तुलनमा राख्न मद्धत पुर्याउनेबारे अध्ययनहरूले समेत पुष्टि गरिसकेका छन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार ४३ प्रतिशत बालबालिका र ३४ प्रतिशत महिलामा रक्तअल्पता छ । पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकाको उमेर अनुसार उचाइ छैन । बालबालिकाको कुपोषणको सम्बन्ध महिलाको रक्तअल्पतासँग रहेकाले उनीहरूलाई यसबाट मुक्त गराउन रैथाने बालीका परिकारको उपभोग प्रभावकारी हुन्छ ।
नेपालको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावट, धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरूले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपानाई गुणस्तरीय बीउ तथा विरूवाको छनोट, एकआपसमा बीउ तथा विरुवा साटासाट र विस्तार गर्दै खेती गरिने प्रचलनले गर्दा हजारौं जातका रैथाने बीउहरूको विकास भएका हुन् । पहिलेका कृषकहरु बालीहरु टिप्नु र काट्नुभन्दा पहिला राम्रोसँग पाकेका, पुष्ट दाना भएका र रोग नलागेका बाला वा फल छनोट गरेर काटेर वा टिपेर छुट्याउने गर्थे, हाल हाईब्रीड बीउ लगाउने चलन बढेसँगै बीउ छनोट र भण्डारण सम्बन्धि ज्ञान पनि क्रमशः हराउँदै जान थालेका छन् ।
कृषि अनुसन्धान र विकास, खाद्य सुरक्षा, पोषण विविधता र पयाृवरणीय हिसाबले रैथाने बालीका जातहरूको विशेष महत्व छ । रैथाने जातका बालीहरू विभिन्न किसिमका रोग तथा कीरा सहने, सुक्खा वा खडेरी तथा बढी पानी सहने, खान मीठो तथा स्वादिला पोसिला समेत हुने गर्छन् । कतियप रैथाने बालीका जातहरूमा औषधीय गुण समेत हुने र विभिन्न धार्मिक तथा जातीय संस्कारहरूमा नभई नहुने समेत हुन्छन् ।
रैथाने जात संरक्षणको एउटा प्रभावकारी आधार हो, गाउँ गाउँमा सामुदायिक बीउ बैँक स्थापना । २०५१ सालमा ललितपुरको दलचोकीमा पहिलो सामुदायिक बीउ बैँक स्थापना भएको थियो । त्यसयता देशभर झन्डै सय वटा यस्ता बिउ बैँक खुलेका छन् । यी मध्ये ५० बटा जति प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् । किसानसँग थुप्रै जातका बीउ रहे पनि तिनलाई स्थानीय रूपमा बेचबिखन तथा प्रसार गर्न दर्ता हुनुपर्ने जस्ता जटिलता छन्, निश्चित क्षेत्रका लागि ती जटिलता खुकुलो बनाउनुपर्ने आवश्यक छ । बीउ ब्यांक दिगो बनाउन सकिएमा रैथाने जात फस्टाउँछ, परम्परागत ज्ञानसँगै बीउ राखिने प्रचलनमा विज्ञानसम्मत सीपहरू समेत मिश्रण गर्दै जानुपर्छ ।
अब हामीले पनि आयातित ज्ञानमा होइन, आफ्नै माटोमा उत्पन्न रैथाने ज्ञान, सीप र कलालाई केन्द्रमा राखेर कृषि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ । नेपालको भौगोलिक विविधता अनुसारको कृषिको समस्या पनि फरकफरक छन्, यिनै समस्याको पहिचान र निदान गर्दै कृषिलाई मजबुत बनाउने कृषिको व्यावसायीकरण र आधुनिकीकरणको पहिलो प्रस्थान विन्दु हुनेछ ।
विभिन्न विज्ञहरुको सहयोगमा अशिम सापकोटाले तयार पारेको रीपोर्ट ।