ताजा खबर

बाख्रापालनबाट आत्मनिर्भर बन्दै धनुषाका महिला

23 hours ago

16 views

बाख्रापालनबाट आत्मनिर्भर बन्दै धनुषाका महिला

जनकपुरधाम, २४ असार । धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरकी रागेश्वरी कुमारी दनुवार केही वर्षअघिसम्म दैनिक घरखर्च जुटाउन संघर्षरत थिइन् । अरूको खेत अधियाँमा जोतेर परिवार चलाउने अवस्था रहेकी उनी आज भने व्यावसायिक बाख्रापालनमार्फत गाउँका महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् ।

दुईवटा स्थानीय बाख्राबाट सुरु गरेको उनको प्रयास अहिले २१ वटा बोयर जातका बाख्रा, खसी र बोकासहितको व्यवस्थित फार्ममा विस्तार भएको छ । उत्पादन बढाउन उनले बोयर जातका बोका ल्याई स्थानीय जातसँग क्रस प्रजनन गराएकी छन् । छिटो वृद्धि, रोग प्रतिरोधी क्षमता र बढी मासु उत्पादन हुने भएकाले बोयर जातका बाख्राले राम्रो आम्दानी दिलाएको उनी बताउँछिन् ।

सुरुमा उनको निर्णयप्रति शंका गर्ने गाउँलेहरू अहिले भने उनको खोरमै पुगेर व्यवस्थापन सिक्न थालेका छन् । बाख्रापालनबाट हुने नियमित आम्दानीले परिवारको आर्थिक अवस्था सुध्रिएको मात्रै होइन, समाजमा सम्मानसमेत बढेको दनुवारको अनुभव छ ।

उनको सफलताले गाउँका अन्य महिलालाई पनि व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गरेको छ। बटेश्वर–२ मा गठन गरिएको राजदेवी पशुपालक समूह मा आबद्ध २५ जना महिलाले सामूहिक रूपमा बाख्रापालन, घाँसखेती र आधुनिक पशुपालन प्रविधि अपनाउँदै आम्दानी बढाइरहेका छन् । समूहमार्फत अनुभव आदानप्रदान, तालिम तथा समस्या समाधानको अभ्यासले महिलाको आत्मविश्वाससमेत बढाएको छ ।

समूहकै सदस्य ललितादेवी ठाकुरले पनि एउटा बाख्राबाट व्यवसाय सुरु गरी अहिले १७ वटा बाख्रा पाल्दै आएकी छन् । उनी आफ्नै तथा भाडामा लिएको जग्गामा घाँसखेती गर्दै व्यवसाय विस्तारको तयारीमा छिन् । अर्की कृषक सरितादेवी सिंह पनि बाख्रापालनलाई आम्दानीको प्रमुख आधार बनाउँदै सक्रिय रूपमा पशुपालनमा लागेकी छन् ।

महिला समूहले बाख्रापालनसँगै पशु आहारका लागि पास्पालम, किम्बु, बदामे, मेन्डुला, टाँकी र भटमासलगायत उन्नत घाँस उत्पादन गरिरहेको छ। समूहका अध्यक्ष मनिता सिंहका अनुसार यस वर्ष मात्रै करिब रु ६ लाख बराबरको घाँस उत्पादन गरिएको छ भने रु डेढ लाखको घाँस बिक्री गरिएको छ ।

यस अभियानलाई नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल), विश्व बैंक तथा विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगले थप बल पुगेको छ । परियोजनामार्फत बाख्रा, बोयर जातका बोका, खोर निर्माण, चाप कटर, तराजु, घाँस नर्सरी तथा विभिन्न सामग्री अनुदानमा उपलब्ध गराइएको छ ।

कृषि अधिकृत शिवचन्द्र झाका अनुसार परियोजनाअन्तर्गत समूहका २५ सदस्यलाई बाख्रा, २५ वटा खोर, दुई नमुना बोका खोर तथा घाँस उत्पादनका लागि रु ५ लाख ५० हजार अनुदान प्रदान गरिएको छ । यसबाट महिलाले आधुनिक पशुपालन प्रविधि अपनाएर उत्पादन र आम्दानी दुवै बढाएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका अनुसार नेपालमा खसीबोकाको मासुको माग वर्षेनी बढ्दो क्रममा छ । स्थानीय उत्पादन बढ्दै जाँदा आयातमा निर्भरता घट्ने अपेक्षा गरिएको छ ।

स्थानीय अगुवाहरूका अनुसार बाख्रापालनले महिलाको आर्थिक अवस्था मात्र होइन, सामाजिक भूमिका पनि परिवर्तन गरेको छ । अहिले महिलाहरू आफ्नै व्यवसाय सञ्चालन, बैंकिङ कारोबार, पशु बिमा तथा परिवारका शिक्षा–स्वास्थ्यमा लगानी गर्न सक्षम भएका छन् ।

धनुषा र महोत्तरीका चार पालिकामा सञ्चालन भइरहेको फ्यानसेप नेपाल परियोजनाअन्तर्गत ५५३ किसान समूह सक्रिय छन् । साना किसान, सिमान्तकृत समुदाय तथा गर्भवती महिलालाई लक्षित गर्दै अनुदान, प्राविधिक सहयोग र पोषणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

स्थानीय जनप्रतिनिधिका अनुसार उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ र व्यवस्थित बजारीकरणमा जोड दिन सके ग्रामीण महिलाको उद्यमशीलता अझ सुदृढ हुने विश्वास गरिएको छ । बटेश्वरका महिलाले बाख्रापालनमार्फत सामूहिक प्रयास, आधुनिक सोच र निरन्तर मेहनतले ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन सम्भव हुने सन्देश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?