ताजा खबर

बहराइनबाट गाउँ फर्किए भण्डारी बाख्रापालनबाट बने आत्मनिर्भर

23 hours ago

16 views

बहराइनबाट गाउँ फर्किए भण्डारी बाख्रापालनबाट बने आत्मनिर्भर

म्याग्दी, ४ वैशाख । रोजगारको खोजीमा बहराइन पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारी स्वास्थ्य समस्याका कारण चार वर्षमै स्वदेश फर्कन बाध्य भए ।

तीन छोराछोरी, वृद्ध बुबाआमा र परिवारको जिम्मेवारी बोकेका भीम विदेशबाट फर्किँदा निराश थिए । तर, उनले हिम्मत भने हारेनन् । गाउँमै केही गर्ने सोचसहित उनले बाख्रापालन सुरु गर्ने निर्णय लिए ।

आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा आधारित बाख्रापालन व्यवसायले उनलाई आज स्वरोजगार मात्र होइन, आत्मनिर्भर समेत बनाएको छ । “विदेशबाट फर्किँदा घर कसरी चलाउने भन्ने चिन्ता थियो,” भीमले भने, “तर बाख्रापालन सुरु गरेपछि विदेश जानैपर्ने बाध्यता हट्यो ।” उनले बुबा लालबहादुर भण्डारीले परम्परादेखि गर्दै आएको बाख्रापालनलाई आधुनिक ढंगले अघि बढाएका हुन् । सुरुमा ५० वटा बाख्राबाट सुरु गरिएको गोठमा अहिले १५० वटा स्थानीय खरी जातका बाख्रा छन् । यसमा उनकी श्रीमती विपनाले पनि उत्तिकै साथ दिएकी छन् ।

भण्डारी दम्पतीले वार्षिक १५–२० वटा खसीबोका तथा त्यत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री गर्दै आएका छन् । “एक समय बाख्राको सङ्ख्या दुई सयसम्म पुगेको थियो,” विपनाले भनिन्, “आफ्नै ठाउँमा मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने अनुभव भयो।”

खरी जातका बाख्रा अग्ला र तौलदार हुने भएकाले राम्रो मूल्यमा बिक्री हुन्छन् । दुई वर्ष पालेका खसीको मूल्य प्रतिगोटा करिब २० हजार रुपैयाँसम्म पुग्ने उनले बताइन् ।

ग्रामीण क्षेत्रमा पर्याप्त घाँसपात र दानाको व्यवस्थापन गर्न कठिन हुने भएकाले भण्डारी दम्पतीले घुम्तीगोठ प्रणाली अपनाएका छन् । मौसमअनुसार स्थान परिवर्तन गर्दै उनीहरू बाख्रा चराउन विभिन्न ठाउँमा लैजान्छन् ।

हाल फलीगाउँ नजिकैको हुचिन क्षेत्रमा गोठ राखिएको छ भने वैशाख अन्तिमतिर ढोरपाटनतर्फ लैजाने योजना छ । वर्षभरि विभिन्न बुकी (चरन क्षेत्र) मा बाख्रा चराउँदै उनीहरू त्रिपालको टहरामा बस्छन् । बाख्राको सुरक्षाका लागि उनीहरूले पाँचवटा कुकुर पालेका छन् । ती कुकुरले चितुवा लगायत जङ्गली जनावरबाट बाख्रालाई जोगाउन सहयोग गर्छन् ।

आफ्नो नाममा जग्गा नभएकाले व्यवसाय दर्ता गर्न नसके पनि भण्डारी दम्पतीले बाख्रापालनलाई नै दीर्घकालीन जीविकोपार्जनको माध्यम बनाउने योजना बनाएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पिपिआर रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ भने धवलागिरि गाउँपालिकाले प्राविधिक सहयोग, त्रिपाल र सौर्य ऊर्जा उपलब्ध गराएको छ ।

भण्डारी दम्पतीले पशु उपचार सेवा निःशुल्क गर्ने र पशु बीमामा सहज पहुँच उपलब्ध गराउन राज्यसँग आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?