परम्परागत रुपमा गरिँदै आएको काठको ठेकी बनाउने पेशा संकटमा पर्न थालेको छ । विगत वर्षमा धेरैले सो काम गर्दै आए पनि अहिले विस्थापित भएर अन्यत्रतिर लागेका छन् । संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा पर्दै गएको यस क्षेत्रमा आबद्धहरु बताउँछन् । ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । विशेष गरी ठेकाठकी दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दहि राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ । ठेकीमा मोही पार्न मदानीलाई काठको घुर्रोमा अड्याएर नेती नामको डोरीले दुईतिर तान्दै मदानी घुमाउने गरिन्छ । आधुनिक प्रविधि भित्त्रिने क्रमसँगै ठेकीको प्रयोग घर–घरमा कम हुदै गएको छ । काठलाई खोपेर बनाइने ठेकी बनाउने पेशा पनि संकटमा पर्न थालेको छ ।
कालो ठेकी नारान काली काठको
रातो ठेकी दारको
दिन आउँछ रिम्दै घुम्दै जोवन एक बारको
हजुर कर्मै रिसाउने’ भन्ने मदनकृष्ण श्रेष्ठको यो गितले पनि काठको ठेकीकै महिमा बोलेको छ ।
प्रयोग गर्न सजिलोका कारण ठेकीको साटो प्लास्टिक, स्टील, आल्मुनियमका भाँडा हावी भएका छन् सबैतिर । आधुनिक भाँडा हरु गाँउगाँउमा पुग्न थालेपछि यस्ता काठका ठेकीहरु हराउन थालेका हुन् ।
‘सीप विस्तार गर्न सकिएन भने काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यका तर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेशा बचाइराख्न सकिने रैथाने प्रवद्र्धकहरु बताउने गरेका छन् ।
हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सकेमा काठका ठेकी तथा भाँडाहरुको महत्व अझै बढ्न सक्ने सम्भावना देखिन्छ । यस्ता पेशा जोगाउन नयाँ पुस्तालाई आकर्षित गराउन तालिमको व्यवस्था गरेर सीप सबैमा विस्तार गरी यस्ता सामाग्रीको महत्वबारे सबैलाई गराउनु जरुरी छ ।
काष्ठ पैदावारबाट पेशा सञ्चालन हुने भएकाले यसको संरक्षण तथा विकासमा अन्य निकायसँग सहकार्य गरेर जीवन्त राख्नुपर्ने विज्ञहरुको धारणा छ । यस्ता परम्परागत पेशाको संरक्षण गर्नु हाम्रो गर्दै यसलाई थप आधुनिकता दिँदै आवश्यक साथ सहयोग संरक्षण गर्ने हो भने पुस्तान्तरण हुन असहज पनि हुने छैन् । परम्परागत रुपमा सञ्चालन हुँदै आएका यस्ता पेशाको संरक्षणमा सरोकार पक्षले ध्यान दिनपर्ने र यस्ता पेशालाई प्राथमिकता नदिइने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने यसमा संलग्नहरु बताँउछन् । रैथाने पराम्परगत पेशाको संरक्षण गर्नका लागि ठोस योजना बनाउन आवश्यक छ ।
स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने मानिस व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कँुदेरै ठेकी बनाउने चलन छ । बजारमा पाइने प्लाष्टिक तथा स्टिलका भाडामा भन्दा गाउँमै कुदेर बनाइएका काठका यस्ता ठेकीमा दूध जमाएर दही जमाउन तथा मोही पार्न सजिलो हुन्छ । त्यस्तै काठका भाँडामा जमाइएको परिकार स्वस्थ्यकर हुनाका साथै स्वादिष्ट हुन्छ ।
‘यस्ता पेशा–व्यवसायसँगै रीतिरिवाज रहनसहनको संरक्षणमा पनि स्थानीय तहले भूमिका खेल्नुपर्छ । यस्ता कुराको संरक्षण गर्दै थप विस्तार गर्ने हो भने देशको आर्थिक विकासमा पनि टेवा पुग्छ।’ उनले भने, ‘यो पेशा निरन्तरताका लागि युवालाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तथा व्यावसायिक बनाउन उत्प्रेणा थप्नुपर्ने आवश्यकता छ । यस्ता खालका मौलिक पेशा हाम्रो देशको सम्पत्ति हुन् । ’एग्रो टाइम्स