ताजा खबर

नेपालमा उखुको उत्पादकत्व बढाउन भारतद्वारा नार्कलाई चार नयाँ उन्नत जात हस्तान्तरण

6 hours ago

6 views

नेपालमा उखुको उत्पादकत्व बढाउन भारतद्वारा नार्कलाई चार नयाँ उन्नत जात हस्तान्तरण

भारत सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई उखुका चार वटा उन्नत जातका जर्मप्लाज्म (बीउ) हस्तान्तरण गरेको छ। नार्कको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा भारतीय दूतावासकी प्रथम सचिव सुश्री निशाले ती नयाँ जातहरू नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका जातहरूमा ‘CoLk 16202’, ‘CoS 17231’, ‘CoS 18231’ र ‘CoLk 16470’ रहेका छन् ।

यी चारमध्ये ‘CoLk 16202’ र ‘CoLk 16470’ मध्य-ढिलो पाक्ने (Mid-late maturity) जातहरू हुन्। जसमध्ये ‘CoLk 16202’ को उत्पादन क्षमता ९३.२ टन प्रतिहेक्टर र सुक्रोजको मात्रा १७.७ प्रतिशत छ भने ‘CoLk 16470’ को उत्पादन ८२.५ टन प्रतिहेक्टर र सुक्रोजको मात्रा १७.४ प्रतिशत रहेको छ। त्यसैगरी, बाँकी दुई जातहरू ‘CoS 17231’ र ‘CoS 18231’ छिटो पाक्ने (Early maturity) जातहरू हुन् । जसमा ‘CoS 17231’ को उत्पादन ९१.५ टन प्रतिहेक्टर र सुक्रोज १७.७ प्रतिशत छ भने ‘CoS 18231’ को उत्पादन ८२.५ टन प्रतिहेक्टर र सुक्रोजको मात्रा १८.० प्रतिशत रहेको छ । हस्तान्तरण गरिएका यी चारै वटा जातहरू उखुमा लाग्ने घातक ‘रेड रट’ (Red Rot) रोग प्रतिरोधी क्षमता भएका जातहरू हुन् ।

हस्तान्तरण कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले भारतको तुलनामा नेपालमा उखुको उत्पादकत्व कम रहेको उल्लेख गर्दै नयाँ जातहरूमा पाइने उच्च सुक्रोजको मात्रा र रोग प्रतिरोधी क्षमताले नेपालको उखु उत्पादन बढाउन ठूलो सहयोग पुग्ने बताउनुभयो । यसले किसानहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउनुका साथै चिनी उद्योगहरूलाई लामो समयसम्म सञ्चालन गर्न मद्दत पुग्नेछ । किसानहरूसम्म यी जातहरू पुर्‍याउन नार्कका विभिन्न अनुसन्धान केन्द्रहरूमा बहु-स्थान परीक्षण (Multi-location trial) गरिने र आगामी तीन वर्षभित्र पर्याप्त बीउ उत्पादन तथा प्रवर्द्धन गरिने उहाँले जानकारी दिनुभयो । साथै, भारत सरकारको सहयोगमा नेपालमै उखुको ब्रिडिङ (Breeding) कार्यक्रम सुरु गर्न सकिने सम्भावनाबारे चर्चा गर्दै उहाँले भारतीय कृषि अनुसन्धान परिषद्, भारतीय उखु अनुसन्धान संस्थान, भारत सरकार तथा भारतीय राजदूतावासप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?