कुनै समय गाउँघरका पाखा,पखेरामा गुन्जिने यो लोकभाका केवल गीत मात्र थिएन, यो त नेपाली माटोको पहिचान र आत्मीयताको सङ्गीत थियो। आज समयको चक्रसँगै यी शब्दहरू फिका बन्दै गएका छन् र घैया धानको अस्तित्व संकटमा परेको छ। ५० वर्ष अघिको त्यो समय, जब पहाडका खोरिया र भिरालो पाखाहरूमा घैया धान लहलहाउँथ्यो, तब गाउँलेको मनमा एउटा छुट्टै उत्साह हुन्थ्यो।
घैया केवल एउटा बाली मात्र थिएन, यो त सुख्खा र कठोर माटोमा पनि हाँस्न सक्ने किसानको बलियो सारथी थियो। न सिँचाइको चिन्ता, न आधुनिक मलको आवश्यकतास केवल आकाशे पानी र गोठको मलको भरमा सुनझैँ पहेँलपुर भएर पाक्ने घैयाले गरिब किसानका ओठमा मुस्कान छरिदिन्थ्यो।
वैशाख(जेठको चर्को घाममा हल गोरु र लिड्कोको सहायताले धुले माटोमा छरिएको घैया, दशैँको सँघारमा आइपुग्दा बाला झुलाएर भित्र्याउन तयार हुन्थ्यो। कोदो र मकैको ढिँडो खाएर थाकेका जिब्राहरूका लागि घैयाको चिउरा र सेतो भात एउटा उत्सव जस्तै बन्थ्यो। विशेषगरी दशैँका बेला ढिकीको “डुङ(डुङ” आवाजसँगै घरघरमा फैलिने घैयाको मगमग बास्नाले टोल नै उज्यालो बनाउँथ्यो।
बालबालिकाका खल्तीमा भरिने चिउरा, पाहुनाको स्वागतमा पस्कइने सेलरोटी र पशुवस्तुका लागि पोसिलो आहार बन्ने यसको ‘नल’ले प्रकृति र मानवबीचको अटुट सम्बन्धलाई प्रतिविम्बित गर्थ्यो। घैया केवल पेट भर्ने अन्न मात्र थिएन, यो त छोरीबेटी र इष्टमित्रलाई जोड्ने प्रेमको सूत्र थियो।
विडम्बना१ आज आधुनिकताको लहरमा हामीले आफ्नै रैथाने वैभवलाई बिर्सँदै गएका छौँ। नयाँ पुस्ताको हातमा घैयाको चिउरा होइन, पत्रु खानाले राज गरेको छ। मेलापातका ती भाका र ढिकीका ती आवाजहरू इतिहासको पानामा सीमित भएका छन्। आधुनिक खेती र आयातित चामलको भीडमा घैयाको मौलिक स्वाद र सुगन्ध कतै हराएको छ। तर सम्झनुपर्ने कुरा के छ भने, घैया केवल एउटा पुरानो बाली मात्र होइनस यो हाम्रो संस्कृति, हाम्रो इतिहास र पोषणको खानी पनि हो। फाइबर, भिटामिन र खनिजले भरिपूर्ण यो रैथाने बालीले हामीलाई आत्मनिर्भरताको पाठ सिकाउँछ।
आज घैयाले आफ्नो अस्तित्व रक्षाका लागि हामीसँग बिन्ती गरिरहेको छ। यदि हामीले हाम्रा यी मौलिक धरोहरलाई जोगाउन सकेनौँ भने, भोलिको पुस्ताले हाम्रो गौरवशाली पहिचान केवल कथामा मात्र सुन्न पाउनेछ। त्यसैले, आफ्नो माटो र जरासँग जोडिन घैयाजस्ता रैथाने बालीको संरक्षण गर्नु आजको परम आवश्यकता हो।
– तिलक ढकाल
नेपाली माटो र रैथाने जीवनशैलीका संवाहक