कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा काम सुरुवात भएको मुक्तिनाथ कृषि कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचीकृत कम्पनीको सूचीमा कृषि समूहको कम्पनीको रुपमा थपिँदैछ । यहि मंसिर ८ देखि आईपीओ निष्कासन खुला गरेको मुक्तिनाथ कृषि कम्पनी धितोपत्र बजारमा कारोबार हुने पहिलो कृषि कम्पनी समेत बनेको छ । कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि सहयात्रीको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन तथा विक्रि केन्द्रबाट समेत कारोबार गर्ने उद्धेश्यले कम्पनी सञ्चालनमा आइरहेको छ । हामीले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका उपमहाप्रवन्धक रामशरण तिमिल्सिनासँग कम्पनीले आईपीओ निष्कासन खुला गरेपछिको सर्वसाधारणको कृषि प्रतिको मोह, प्रतिक्रिया र भावी रणनितीको विषयमा केही कुराकानी गरेका छौँ, प्रस्तुत छ सोही कुराकानी ।
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गरेपछि सर्वसाधारणको विश्वास र उपलब्धि छिट्टै हासिल गर्न सफल बन्नुभएको छ, खासमा यहाँहरुको यो उद्धेश्य कसरी पु्रा हुँदैछ ?
देशको अर्थतन्त्रमा मुख्य हिस्सा रहेको कृषि क्षेत्रमा संस्थागत रूपमा निजी क्षेत्रको अपेक्षित लगानी आकर्षण नभइरहेको परिप्रेक्ष्यमा मुक्तिनाथ विकास बैंकको समेत प्रतक्ष्य लगानीसहित विभिन्न व्यावसायिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको लगानीमा पब्लिक कम्पनीको रूपमा मुक्तिनाथ कृषि कम्पनी २०७५ सालमा स्थापना भएको हो । नेपालमा कृषिमा अथाह सम्भावना देखेरै कम्पनीको सुरुवात भएको हो । हामीले कम्पनी संचालन गरेको दुई वर्ष जति समय अध्ययन अनुसन्धानमै किसानसँग नै बिताएका छौ, बजार र उपभोक्ताकै बिचमा बिताएका छौ । त्यसपछिका यीनै पछिल्ला ३ वर्ष कम्पनीलाई व्यवसायिक रूपमा सक्षम बनाउनमै तल्लिन छौँ । सुरुमा किसानलाई आवश्यक पर्ने उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय सामान किसानलाई वितरण गर्न कस्ता संरचना बनाउने भन्नेमा केन्द्रित भएर काम गरिरहेका छौँ । धेरै किसानहरुलाई प्रयोगात्मक तालिम समेत दिईसकेका छौँ । हालसम्म सातै प्रदेशमा कम्पनीको प्रादेशिक कार्यालय छन् । सय जना भन्दा बढी कर्मचारीहरू कार्यरत छन् । नेपालको कृषि क्षेत्रमा काम गर्न संस्थागत रूपमा निजी क्षेत्रको पहिलो पब्लिक मुक्तिनाथ रुपमा आईपीओ जारी गर्ने कम्पनीको रुपमा समेत स्थापित गराँउन सफल भएका छौ ।
खासमा मुक्तिनाथ कृषि कम्पनी कसरी कृषि क्षेत्रबाट सफल बन्दैछ त ?
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धन सम्बन्धी ५ वटा कृषि संरचना सञ्चालनमा समेत ल्याएको छ । जस अनुसार कम्पनीले इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ । यसैगरी स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप पनि सञ्चालनमा ल्याएको छ । साथै हामीले ५ वर्षे रणनीतिक कृषि योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले उक्त संरचना समेत सञ्चालनमा ल्याएका छौँ । खासमा हामीले फरक काम नगरे पनि कृष अर्थात उत्पादक र उपभोक्ता विचको दुरीलाई कम गर्दै कृषिको व्यवसायिकरणकै पथलाई सिलसिलाबद्ध व्यवस्थापन गर्नेछौँ ।
कम्पनीप्रति सर्वसाधारणको बुझाइ र प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
अहिले सेयरबजारप्रति धारणा फरक छन् । नकारात्मक र सकारात्मक दुवै छन् । अलि अप्ठेरो परिस्थितिमा पनि कम्पनीले सर्वसाधारण माझ आइपिओ निष्काशन गरेको छ, तर हामीले यस्तो विषम परिस्थितिमा हामीप्रति सबैको आकर्षण देखिनुले हामीलाई सकारात्मक ऊर्जा दिएको छ । हामी किसानलाई तालिम, विभिन्न व्यावसायिक योजना र गुणस्तरीय उत्पादनका सामग्री दिन्छौं । यससँगै किसानको उत्पादनको बिक्री सुनिश्चितता दिन्छौं । ‘तपाईंहरू उत्पादन गर्नुस्, हामी किनिदिन्छौं’ भन्ने अवस्थामा जाँदैछौं यसले झनै हाम्रो कार्यप्रति विश्वास बढ्ने र अझै आकर्षण बढ्नेमा ढुक्क छौ ।
हाल कृषिमा बढ्दो परनिर्भरता छ, युवाहरु कृषिमा आकर्षित देखिदैनन्, यस्तो समयमा तपाईहरु सफल चाँहि कसरी बन्नुहुन्छ ?
जुन क्षेत्रमा निजी क्षेत्र प्रवेश गरेको छ, त्यो राम्रो भएको छ । यसर्थ, कृषिमा हामी पब्लिक कम्पनी भएर प्रवेश गरेका छौं । यो कम्पनीमा आउन लगानीकर्तालाई स्वागत गर्दर्छौं । प्रायः व्यवसायमा एकलौटी गरौं भन्ने हुन्छ । तर, हामीले ठूलो सम्भावना देखेकाले एक्लै गर्न सम्भव नहुने मान्छौं । टिमवर्क जरुरी भएकोले संस्थागत लगानी यो क्षेत्रमा चाहिएको हो। कृषिले मुलुकको अर्थतन्त्रसँगै अहिलेको बेरोजगारको समस्या समाधान गर्न सहयोग गर्नेछ हामीले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर गरिएका काम सफल हुछन नै भन्ने अनुसन्धानबाट समेत पाइसकेका छौँ, त्यससैले हामीले यहि मोडेलबाट काम गर्न खोजिरहेका छौँ । एग्राे टाइम्स