आज देशको अवस्था जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि यो नाजुक छ र अझ नाजुक बन्दै गएको भन्नै पर्ने हुन्छ । यो हुनुको कारण हामीले यहाँ केहि गर्न नसक्नु नै हो । यसको बारेमा हामी आफैले आफैलाई धिक्कारने र आरोपित गर्नै पर्ने भएको छ । यदि यसो गर्न सकिएन भने यो मुलुक बन्ने अवस्थामा रहदैंन । यो कुरा पक्का पक्की नै हो भनेर सबै क्षेत्र अलमल परिरहेको अवस्थामा देशमा सर्वहारा वर्गको नेतृत्व गर्ने दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्थापित भएको छ ।
विगत लामो समयलाई हेर्ने हो भने हामीले यो देश बनाउने कुनै काम गर्न सकेनौ । बरु आजसम्मको हाम्रो आफ्नै व्यवहार हेर्दा हामी यो देश विगार्न मात्र कस्सिएर लागेको महसुस हुन्छ । नकारात्मक कामहरुको डंगुर पालेर अझ यसलाई असहज बनाउने आधार हामी नै बनिरहेका छौं । सभासद्को छलफल गर्ने थलो संसद पनि चटकीहरुको खेल देखाउने मैदानमा परिणत भएझैं छ । त्यहाँ कैले त अर्थमन्त्रिको ब्रिफकेश फोडिन्छ भने कहिले बजेट प्रस्तुतीको तयारी नै अबरुद्ध गरिन्छ । तोकिएको समयमा कुनै काम हुन सक्दैन र कसैले त्यसको जिम्मेवारीका साथ गल्ति गरेको छु भन्दा पनि भन्दैन ।
अवस्था जटिल छ । यो लेखक स्वयंलाई एकपटक डा. बाबुराम भट्टराईसङ्गआर्थिक कार्यक्रम विनाको राजनीतिले मुलुकको भविष्य अन्धकार हुन्छ भन्ने बारेमा गम्भिर छलफल गरेको सम्झना भैरहेको छ । वि.सं.२००९ को सेप्टेम्बरमा छोटो समयको इजरायल भ्रमणबाट फर्केपछि डा. बाबुराम भट्टराईसङ्ग यसबारे छलफल भएको थियो । इजरायलीहरुले जटिल परिबेशबाट गुज्रिरहेको देशमा समेत गरिरहेको कृषि क्षेत्रको प्रगति प्रति म निक्कै प्रभावित भए । पानी नभएको, माटो नै नभएको, अत्यधिक तापक्रम भएको देशले समेत नेपालको उच्च भागमा फल्ने स्याउ लगायत गर्मी ठाउँमा फल्ने फलफूल र तरकारी समेत उत्पादन भैरहेको देख्दा हामी जस्तो अल्छीलाई अचम्म लाग्नु स्वभाविक थियो । भ्रमणको क्रममा त्यहाँको कृषि मन्त्रालयको गतिविधि र कृषि प्रविधिको बारेमा चासो राखेर निक्कै सोधखोज गरियो ।
नेपालबाट तत्कालिन अवस्थामा झण्डै १४ सय श्रमिकहरु त्यहाँ काम गर्दा रहेछन् । नेपालको दूतावासमा गएर केहि जानकारी लिए पछि सकेसम्म त्यस्ता नेपाली कृषि श्रमिकहरुलाई भेट्ने प्रयास पनि गरियो । त्यतिबेला इजरायलमा ५ वर्ष काम गरिसकेका स्वदेश फर्कन तयार केहि श्रमिक साथीहरुलाई भेट गर्ने क्रममा कृषि अनुसन्धान गरिरहेका डा. विष्णु चापागाईलाई पनि भेट गर्ने मौका मिल्यो । वहाँ इजरायलमै विद्यावारिधि गरेर त्यही सरकारी अनुसन्धानको काम गरिरहनु भएको रहेछ । वहाँ जस्तो विशेषज्ञको नेपालमै खाँचो छ भनेर नेपालमै फर्कन आग्रह पनि गरियो । हाम्रो आग्रहलाई स्वीकार गरेर हो वा वहाँको आफ्नै चाहनाले हो विष्णुजी अहिले नेपालमै इजरायली प्रविधियुक्त खेतीको विस्तारमा हुनुहुन्छ ।
छोटो समयको इजरायल बसाई पछि हामी नेपाल फर्कियौं । फर्किनु अघि म स्वयंले इजरायलबाट फर्कने सबै साथीहरुलाई नेपालमा आएपछि सम्पर्कमा रहन आग्रह गरेको थिए । सोही आग्रह अनुसार इजरायलमा सिकेको सीप नेपालमा लगानी गर्न आतुर विष्णु तिमिल्सिना ललितपुर बुखेल, खोजराज कटुवाल धरान लगायतका झण्डै २५ जना जति साथीहरु सित भेट भयो । लामो छलफल र प्रयास पछि खोजराजजीको नेतृत्वमा काठमाडौंको जीतपुरफेदीमा रहेको कलाकार मदनकृष्णको १८ रोपनी जग्गामा इजरायली मोडेलको तरकारी खेती सुरु भएको छ । त्यसमा डा.चापागाईले प्राविधिक सल्लाह दिईरहनु भएको छ भने इजरायली दूतावासले पनि सहयोग दिईरहेको छ । मह एग्रिकल्चरको नाममा सञ्चालनमा आएको यो फर्मको उत्पादन आज भाटभटेनी सुपर मार्केटमा विक्री भैरहेको छ ।
त्यस्तै ललितपुरको बुखेलमा विष्णु तिमिल्सिनाले वहाकै ५० रोपनी जग्गामा आफै र अन्य गाउँलेहरुलाई प्रोत्साहित गरेर इजरायली प्रविधियुक्त खेती गरिरहनु भएको छ ।
यसै गरि ललितपुरकै हरिसिद्धिमा इजरायली साथीहरुबाट प्रभावित भएर गुल्मीका माओवादी जिल्ला सेक्रेटरी समेत रहेका जीवलाल पन्थी लगायतका साथीहरुले २५ रोपनी जग्गा भाडामा लिएर नयाँ प्रविधिबाट खेती सुरु गरेका छन् । यसै प्रकारका खेतीका आज आकर्षण बढ्दो छ । नुवाकोटको जिलिङ लगायतका क्षेत्र, रसुवा, काभ्रे, धादिङ्ग, पर्वत, जुम्ला, मकवानपुर लगायतका जिल्लामा कृषकहरु संगठित भएर नयाँ प्रविधि अनुसारको खेती गर्न थालिसकेका छन् ।
मकवानपुरको चित्लाङ्ग मा विगत ८ वर्षदेखि अशोक ठकुरीले बाख्राको चीज उत्पादन गरिरहेका छन् । झण्डै ७० वटा लोकल बाख्राबाट थोरै थोरै दुध संकलन गरेर उनी दिनको झण्डै ४ किलोसम्म चीज उत्पादन गर्दा रहेछन् । फेञ्च प्रविधिबाट उत्पादन भैरहेको यो चीजको माग प्रसस्त भएपनि ठकुरीसंग कुनै पुँजीको व्यवस्था नहुँदा सीमित उत्पादन गरेर दिन काटिरहेका छन् । यस अवस्थाको सीपलाई विस्तार गर्नु त कता हो कता सरकारले उनलाई ऋणसम्मको व्यवस्थाको लागि कुनै पहल गरेको पाईएन ।
इजरायलबाट फर्के पछि म स्वयंलाई कृषि विकास बैंकमा कार्यरत रहेको नाताले केहि गरौं भन्ने जाँगर चलिरह्यो तर कताबाट सुरु गर्ने भन्ने कुरा अन्योल नै थियो । यस अवस्थामा मैले तत्कालिन इजरायली राजदूत डानिस्टाभसंग समय लिएर भेट गरे । भेटमा उनको हामी कुनै आर्थिक सहयोग दिन सक्दैनौ भन्ने कुरा सुने पछि मैले उनीसंग आर्थिक सहायता होईन त्यहाँ प्रयोग भएको प्रविधि र सीप उपलब्ध गराई दिनु पर्यो, ती म किन्छु भन्दा उनले पत्याएनन् र भने तपाईसंग पैसा कति छ ? सुन्दा पनि नमिठो लाग्ने पाराले उनले सोधेकोले जवाफमा झट्टै मसङ्ग छ अरब नेपाली रुपैंया छ त्यसैबाट तपाईको कृषि प्रविधि र सामाग्री किन्छु भने पछि उनले फेरि भने त्यो कसरी आउँछ ? मैले उनलाई सहजै जवाफ दिए त्यो रकम बैंकबाट आउँछ । नेपालका बैंकले करिब ७०० अरब लगानी गर्छन् । यसरी गरेको कूल लगानीको ३ प्रतिशत विपन्न क्षेत्रमा लगानी गर्नुपर्छ, त्यस मध्ये म १ प्रतिशत मात्र लिन्छु, यसरी लिएको रकम छ अरब मात्र होईन सातै अरब पनि हुन्छ ।
राजदूतले त्यसपछि अचम्म मान्दै मलाई इजरायलबाट आएका चिज र बाख्रापालन चित्लाङ्ग जान सल्लाह दिनुका साथै मैले इजरायलबाट फर्केका नेपाली श्रमिकबाट सञ्चालन हुने काममा प्राविधिक सरसल्लाहको लागि इजरायली दूतावास सधैं खुला रहने बताए पछि म चित्लाङ्ग गएको हुँ । त्यहाँ अशोक ठकुरीको बाख्रा फर्म र उनको सीप हेरेपछि हाम्रो देशको दुर्दशाको परिचय राम्ररी पाए । किनभने केही गरौं भनेर मेहनत गर्ने उद्यमीको समेत खोजी नहुने यो विडम्बनापूर्ण अवस्थाले मलाई अझ पिरोलेको थियो । सीप छ, मेहेनत प्रसस्त छ, बजार पनि छ तर पुँजी छैन । इजरायली विशेषज्ञ तेते पनि उनको उत्पादन प्रकृया देखेर खुशी त भए तर स्थानीय जातका दुध कम आउने बाख्रा, बाख्राको खोरको दुर्दशा देखेर उनी पनि दिक्क भए र मलाई सोधे सरकारले यहाँ केहि सहयोग गर्दैन ? नेपाल सरकारको बारेमा धेरै भन्नु थिएन म चुप रहेर ठकुरीलाई कृषि विकास बैंकबाट केहि रकम कर्जा लिएर राम्रो सेड तयार गर्न अनुरोध गरे ।
ठकुरीजीले अहिले कृषि विकास बैंकको कर्जा लिनु भएको छ । यतिमात्र नभएर उनले भर्खरै बेल्जियमको Goat cooperative “De Levende Aarde” Trakomula भन्ने सस्ंथाबाट तीन महिनाको तालिम प्राप्त गरिसकेका छन् । यसरी तालिम लिने क्रममा सो संस्थाले उच्चस्तरका १४ वटा बाख्रा दिईरहेको छ । त्यहाँबाट बाख्रा ल्याएर चित्लाङ्गलाई उन्नत जातका बाख्रा फर्म बनाउन सकिने र नजिकै रहेको सरकारी फर्मलाई समेत नयाँ तरिकाले प्रयोगमा ल्याएर यहाँ दुधको उत्पादन बढाएर चीज उद्योगलाई उपलब्ध गराउन सकिने र चीज उत्पादन कारखानाको क्षमता समेत बृद्धि गरि उत्पादन बढाउनुका साथै त्यहाँ उत्पादन भएको चीज विदेशमा समेत पठाउन सकिने सम्भावना ज्यादै दर्बिलो छ । यद्यपी १४ वटा बाख्राको ढुवानी १४ हजार युरो अथवा १४ लाख नेपाली रुपैंया जुटाउने समस्याले ठकुरीजी यतिखेर पिरोलिईरहेका छन् ।
एकजना किसानले राष्ट्रको लागि यति ठूलो प्रयास गरिरहेको छ । त्यो किसानलाई भने राष्ट्रले के गरिरहेको छस् भनेर सोध्ने समेत फुर्सद पाएको छैन भने यो देशको आर्थिक अवस्थाको सुधार गर्न कसरी सकिएला ? यसै अवस्थामा देशले चाहेको दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारको नेतृत्व पाईरहेको छ । विगतको सरकारमा डा. बाबुराम भट्टराई अर्थमन्त्री भएर आफ्नो क्षमता प्रस्तुत गरिसकेका सफल व्यक्तित्वलाई राष्ट्रको नै जिम्मेवारी फेरि आएमा निश्चय उनको गम्भिर्यता रहला भन्ने नै लाग्छ । यसर्थ पार्टी भित्रको समस्या, जोड जाड गरेर बनाएको सरकार प्रतिपक्षमा रहेकाहरुको ईर्ष्या, संसारभरका प्रतिकृयाबादीहरुको षड्यन्त्रको बिचमा प्रधानमन्त्री छन् । यो मौकामा एक सक्षम र बौद्धिक व्यक्तित्वलाई पार्टीले प्रधानमन्त्रीको रुपमा पठाएकोमा एकिकृत नेकपा माओवादीलाई समेत धन्यबाद दिनुपर्छ ।
मधेश परम्परादेखि नै अन्नको भण्डारको रुपमा रहेको छ । यति मात्र नभएर कुनै औद्योगिकरणको आधार तयार गर्न मधेश नै तम्सिनु पर्छ । देशको अधिकांश भूभाग पहाडी नै भएकोले श्रोतको खोजी गर्न पहाड नै समर्पित हुनुपर्छ । यस सम्बन्धमा पहाडीया नेताहरु सम्बेदनशील हुनुपर्छ र मधेशका नेताहरुले समेत पहाडीया गरिब र विपन्न जनताको पीडा बुझ्नु पर्छ । के मधेशी नेता नभए पहाडीयाहरुले मधेशलाई उपेक्षा गर्थे त ? होईन । यो देशको परम्परागत शासनले पनि यसो भनेको छैन र पक्षपात गरेको छैन अथवा त्यो गर्नु पनि हुदैंन । पक्षपात नै भएको छ भने कहाँनेर भयो त्यसलाई खुट्याएर निक्र्यौल गर्नुपर्छ ।
यसै कुरालाई लिएर राजा विरेन्द्रले मुलुकको उच्च अथवा हिमाली भेगमा पशुपालन, पहाडी भागमा फलफूल र तराईलाई अन्नले भरिभराउ पार्ने सपना देखेका थिए । यद्यपी पञ्चायत व्यवस्थाको एकल शासकीय पद्धतीमा चलेको शासन व्यवस्थामा जेजति काम भए ती सबै अव्यवस्थित नै भएपनि त्यसै अवधिमा खुलेको चीनको सीमासम्मको बाटो, मेची महाकालीको निकासा, पृथ्वी राजमार्ग लगायतका सडकहरु तथा संस्थानहरुको संचालन व्यवस्था आदि भने यो अवधिका सम्झन लायक विषयहरु हुन् ।
दुर्गम तथा पहाडी भेगमा जनता सधैं भोकमरी र रोगले मुक्त हुन सकेका छैनन् । बर्षाको समयमा सधैं बाढी र पहिरोको शिकार बनेर जनताको बिचल्नी भैरहेको छ । खानेपानी, बिजुली र सञ्चार सुविधाको त कुरै छाडौं जनता एक छाकसम्म खान नपाउने अवस्थामा छन् । देशमा कुनै रोजगारीको अवसर छैन । युवाहरु विदेशमा बेचिएका छन् । युवाले पठाएको रकमबाट देश चलेको छ । यस अवस्थामा हाम्रा नेताहरुलाई सोध्न मन लाग्छ अब यो देशलाई कति समयसम्म दुर्दशामा नै राख्ने हो ?
बजेटले जमिनको स्पष्ट आधार तयार गर्नु पर्छ । कस्तो ठाउँमा बस्ती बसाल्ने ? कस्तो ठाउँमा खेती गर्ने ? पशुपालन, वक्षशाला, बन्यजन्तु लगायत देशका अमूल्य श्रोतलाई बैज्ञानिक तवरले परिचालन गर्ने खालको कार्यक्रम ल्याउनु पर्छ । शिक्षालाई देश सुहाउ“दो श्रोत परिचालनको आधारशीलामा विकसित गरेर उत्पादनशील जनशक्ति निर्माण गर्नु पर्छ । के इजरायल जस्तो प्रतिकूल अवस्थामा बाँचिरहेको देशले कृषि क्षेत्रमा उत्कृष्ट नमुना प्रस्तुत गरेर संसारलाई चकित बनाउन सक्छ भने नेपालले त के मात्र गर्न सक्दैन होला ? यहाँ अभियान अष्ट ज ले सुरु गरिसकेको छ । अष्ट ज ले यसैलाई देश भर लैजाने साहस गरिरहेको छ । यसर्थ यो बजेट जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई संरक्षण गर्नको लागि कृषि उत्पादन क्षेत्रलाई प्रोत्साहित गर्न केन्द्रित हुनुपर्छ ।