ककनी क्षेत्र हिजोआज स्ट्रबरीको ब्राण्ड नै जस्तो भएको छ । यहाँका धेरै किसानहरु स्टबरी खेती गर्दै आफ्नो जिविकोपार्जनसँगै सम्भावना समेत खोजिरहेका छन् । ककनीमा स्टबरीको खेती २५ बर्षअघि देखि नै भए पनि पछिल्लो दशकमा यहाँको ब्राण्ड नै स्टबरी जस्तै भएको छ । यहि ठाँउमा स्टबरीको सम्भावना खोज्दै गरेका छेसाङ तामाङलाई यसको बलियो उदाहरणको रुपमा लिन सकिन्छ । उनका अनुसार ककनी स्ट्रबेरीको लागि नेपालकै ठुलो क्षेत्र बन्दै अन्य ठाँउहरुमा समेत सम्भावना खोज्न अग्र पंक्तिमै दौडिरहेको छ ।
२०४९/०५० सालअघि यहाँ मूला, मकै कोदो मात्रै उत्पादन गरीन्थ्यो, तर यहाँ स्टबरी स्थापित भएपछि यस क्षेत्रका स्थानीयको जीवनशैलीमा ठुलो परिवर्तन नै ल्याइदिएको छ । हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो । यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ। यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाईन्छ र पौष्टिकताको हिसाबले महत्वपूर्ण मानिन्छ ।
छेसाङका बुवाआमाले नै सुरु गरेका थिए स्ट्रबरी खेती । यसलाई थप व्यवसायिक र मुर्तरुप दिन छेसाङ अहिले कम्मर कसेरै लागेका छन् । ककनीको स्ट्रबेरी काठमाडौँ उपत्यका लगायत देशका प्रमुख शहरहरूमा पुग्छ । अन्तर्राष्ट्रिय बजारसम्म ककनीको स्ट्रबेरी पुर्याउने उनको लक्ष्य छ । करिब १० रोपनी क्षेत्रफलमा छेसाङ्ले स्ट्रबेरी रोपेका छन् । उनका अनुसार स्ट्रबेरी खेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन, तर प्राविधिक ज्ञान भने आवश्यक हुने कुरा उनले सुझाँउछन् । ककनीमा अहिले करिब ४ सय घरधुरीले स्ट्रबेरी खेती गर्छन् । अन्य किसानहरूको स्ट्रबेरी खेतीका लागि पनि छेसाङले बिरुवा, प्राविधिक, मलजलदेखि बजारीकरणमा समेत सहयोग पु¥याएका छन् । उनको सक्रियतामा ककनीको स्ट्रबेरी संकलन गरेर लेवलिङ र प्याकेजिङ गरी बजारमा पठाइन्छ ।
आफ्नो आइडिया र सहयोगमा ककनीमा स्ट्रबेरी खेती विस्तार भएको देख्दा उनी दङ्ग छन् । भन्छन्, “परम्परागत खेतीमा उत्पादन र उत्पादनको गुणस्तर राम्रो थिएन । तर, अहिले खेती प्रविधि नयाँ मात्रै छैन गुणस्तर पनि राम्रो छ । पहिले २० केजी फल्ने ठाउँमा अहिले ५० केजी फलाएका छन् ।” पहाडी भूभाग भएको कारण थोपा सिँचाइको सट्टा स्प्रिङ्कल प्रविधिद्वारा सिँचाइ गरिएको छ । खासमा चाहिँ स्ट्रबेरी खेतीका लागि थोपा सिँचाइ गर्नुपर्ने उनी बताउँछन् ।
उनका अनुसार परम्परागत कृषिबाट बर्षमा १०/१२ हजार रुपैयाँ आम्दानी गर्न नसक्ने किसानहरूले पनि स्ट्रबेरी खेतीबाट १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । कार्तिकदेखि बैशाखसम्म स्ट्रबेरी टिप्ने (हार्भेस्ट) गर्ने सिजन हो । बैशाखपछि चाहिँ यहाँका किसान अर्को बर्षको बालीका लागि तयारी गर्छन् ।
एग्रो टुरिजमको उत्कृष्ट गन्तव्य बन्दै ककनी
ककनी स्ट्रबरी मात्र नभएर रेन्बो ट्राउट माछाको पनि हब मान्ने गरीन्छ । तर, सडकका कारण पर्यटकीय स्थान ओझेलमा परेको भने हो, तर काठमाडौँको नजिकै भएकोले आन्तरीक पर्यटकहरुको चहलपहल भने बाक्लिँदो क्रममै पाइएको छ । कृषि पर्यटनलाई प्रवद्र्धनका गर्नका लागि प्रत्येक फर्ममा अतिथिहरू आउने र बस्ने व्यवस्था गर्ने, तालिम सञ्चालन गर्ने, ’फार्मस्टे’ सञ्चालन गर्ने, उत्पादनको कम्तिमा ३० प्रतिशत स्ट्रबेरी फार्मबाटै बिक्री गर्ने, ककनीको स्ट्रबेरीलाई ब्राण्डिङ गर्ने, बजार मूल्य एउटै बनाउने लगायतका काम गर्ने हो भने यो क्षेत्रको राम्रो सम्भावना भएको छेसाङ बताँउछन् ।
सडकखण्ड निकै जिर्ण बन्दै जाँदा यात्रु र पर्यटकलाई सास्ती
ककनी काठमाडौँको बालाजुबाट १८ किलोमिटर टाढा छ । ककनी हाइटमै पुग्ने हो भने २० किलोमिटर छ । नुवाकोटको पासाङल्हामु सडक खण्ड निकै जिर्ण भइसकेको छ । हिउँदमा धुलो र बर्षामा चिप्लो÷हिलो मात्रै हैन, अप्ठ्यारो बाटोमा यात्रा गर्न र ढुवानी गर्नका लागि प्रमुख समस्या बाटो नै भएको उनको ठहर छ । २० किमीको यात्रा गर्न डेढ घण्टा लाग्ने गर्छ । काठमाडौँ–ककनीका लागि एक घण्टामा एउटा मात्रै लोकल गाडी चल्छ । “पहिले ककनी पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध थियो । गाडीहरूको आवत जावतले सडक व्यस्त हुन्थ्यो भने अतिथीले यहाँको होटलहरू भरिन्थे,” छेसाङ सम्झन्छन् । उनका अनुसार बाटोको कारणले पछिल्लो समय घुमफिरको रोजाईमा ककनी सायदै पर्ने गर्छ । जसले गर्दा स्थानीय होटल व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ । त्यसो त नेपालमा सडक यातायात सहज नहुँदा कृषिजन्य वस्तु किसानको खेतमै सड्ने गरेको तथ्य लुकेको छैन । त्यस्तै, ढुवानी खर्च र लगानी बढी लाग्दा नेपाली उत्पादन भारतीय उत्पादनको तुलनामा महँगो पर्ने हुन्छ । यसले किसान र उपभोक्ता नै मारमा छन् । असिम सापकाेटा