पशु चिकित्सामा औषधीको धेरै महत्त्व हुने गर्छ । ग्रामीण क्षेत्रमा प्रशस्त जडीबुटी उपलब्ध हुन्छ । त्यस्ता औषधीजन्य बोटबिरुवाको उपयोगको जानकारीका कारण महँगो एलोप्याथिक औषधी कम प्रयोग गर्ने गर्दछन् ।
ग्रामीण क्षेत्रका किसान परम्परागत घरेलु उपचारमा बढी विश्वास गर्छन् । परम्परागत औषधीले नराम्रो असर गर्दैन । यो कम खर्चिलो हुनुको साथै उपचार प्रभावशाली पनि हुने गर्दछ । तर सहर वरिपरिका किसानले भने आफ्नो पशुको उपचार एलोपेथिक औषधी प्रयोग गर्छन् । तर यी औषधीको अत्यधिक प्रयोगले जीवाणु, विषणु एवं परजीवीमा लामो समयपछि रोग प्रतिकारक शक्ति पैदा हुने गर्दछ । यस कारण महँगा औषधीको उपयोगले लाभ हुनको साटो क्षति बढी हुने गर्छ । यसैले परम्परागत औषधि उपचारको महत्त्व बढेर जान्छ । कतिपय आदिवासी जनजाति समुदायका पशुपालक विभिन्न खाले औषधीजन्य जडीबुटी बिरुवाको महत्त्व, गुण एवं दोषबारे जानकार हुने गर्दछन् । त्यसको प्रयोग सुझबुझसाथ गर्दछन् ।
धेरै समयदेखि परम्परागत जडीबुटीको परम्परागत ज्ञान जिउँदो राख्ने आवश्यकता महसुस हुँदैछ । नत्र भने यो ज्ञान प्रविधि अघिल्लो पुस्तासँगै लोप भएर जाने खतरा छ । यसका साथै हामीलाई आधुनिक पशु चिकित्सा विज्ञानलाई पनि सँगै लगेर जानुपर्ने पनि छ । हाम्रो प्रयास के हुनुपर्छ भने आधुनिक पशु चिकित्सा विज्ञान तथा परम्परागत पशु चिकित्सा ज्ञानको बिच सेतु स्थापित होस् तथा अद्भूत गुण भएका जडीबुटी पशुचिकित्सामा अझ बढी प्रयोग होस् ।
गाउँघरमा कुखुराको रेखदेख राम्रोसँग हुन नसक्नाले कुखुरा पालकलाई समुचित पाइदा भइराखेको छैन । ग्रामीण कुखुरामा मृत्युदर बढी हुने गर्दछ । ग्रामीण कुखुरा पालनको व्यवस्थापनमा केही सुधार गर्न सकिए कुखुरामा लाग्ने रोगहरूको रोकथाम गर्न सकन्छि । यसबाट कुखुरा पालक कृषकको आयमा यथोचित बढोत्तरी गराउन सकिन्छ । ग्रामीण कुखुरामा रानीखेत, बिफर, रुघा खोकी, छेर्ने जस्ता रोग बढी देखिन्छ ।
ग्रामीण क्षेत्रमा यी रोगले ग्रसित कुखुराको उपचार हुन नसक्दा मृत्यु दर बढी हुने गर्दछ । गाउँमा पशु चिकित्सालय एवं औषधी पसलहरूको उपलब्धता नहुनाले उपचार पाउँदैनन् । त्यसैले कृषकलाई वन क्षेत्रमा उपलब्ध हुने औषधीजन्य बिरुवा तथा जडीबुटीबारे अलि कति जानकारी भने हुने गर्दछ । यस ज्ञानको समुचित प्रयोग गरी स्थानीय कृषक एवं ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई प्रशिक्षित गर्ने हो भने ग्रामीण कृषकले आफ्ना पशुको उपचार सस्तो र सुलभ तरिकाले प्राप्त गर्न सक्छन् । ग्रामीण क्षेत्रका कुखुरामा देखा पर्ने केही रोग र त्यसको उपचारमा परम्परागत औषधीको प्रयोग निम्न अनुसार गर्न सकिन्छ ।
रुघाखोकीः
ग्रामीण क्षेत्रमा खुला छोडेर कुखुरा पाल्ने गरिन्छ । चिसो र झरीको समयमा प्रायजसो कुखुरा रुघाखोकीबाट ग्रसित हुन्छन् । ग्रामीण क्षेत्रमा पाइने बेसार, लसुन, अदुवाका बिरुवाको प्रयोगबाट यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो बेला बेसार, अदुवाको गानो पिँधेर, प्याज पिँधेर दानामा मिसाएर खुवाउन सकिन्छ ।
झाडापखाला लागेमाः
खुला ठाउँमा पालिने कुखुराले फोहोर ठाउँको जमेको पानी पिउने हुँदा पेटमा विभिन्न खाले सङ्क्रमण हुने गर्छ । त्यसले कुखुरालाई विभिन्न खालको रोग लाग्छ र झाडापखालाका लक्षणका साथ देखा पर्दछ । यस कारण कुखुरालाई सधैँ सफा पानी उपलब्ध गराउनुपर्दछ । लसुनको पात एवं बेसार खैरो सक्खरमा मिसाएर भातको माड, गहँुको चोकर, दाना आदिमा मिसाएर खुवाउँँदा झाडापखाला निको हुन्छ ।
जुका परेमाः
फोहोर वातावरणमा कुखुरा पालिने हुँदा विभिन्न किसिमका जुका पर्ने सम्भावना हुन्छ । जुकाका फुलबाट सङ्क्रमित दाना, आहारा पानीको माध्यमबाट कुखुराको पेटमा पुग्छन् र नयाँ जुकाका रूपमा विकसित हुन्छन् । यी जुकाले कुखुराको पेटमा उपलब्ध आहारा उपभोग गर्छन् । कुखुराका पेटमा भएका जुका क्रमशः वयस्क हुँदै जान्छन् अनि फूल पार्छन्, जुन कुखुराको विष्टा हँुदै बाहिर वातावरणमा मिसिएर दाना आहारा प्रदूषण गराउँछन् ।
ग्रामीण स्तरमा मेवाको भित्री भागमा रहेको रस पानीमा मिसाएर दिएमा कुखुराका पेटका जुका मर्छन् । त्यसैगरी बेसार, अदुवाको गानो पिँधेर निकालेको रस पानीमा हालेर कुखुरालाई पिउन दिन सकिन्छ । लसुनको पात पिँधेर दानामा मिसाएर दिँदा हुन्छ । अनारका दाना पिँधेर रस बनाएर कुखुरालाई खुवाउन सकिन्छ ।
ढुसीजन्य रोग लागेमाः
कुखुरालाई ढुसीजन्य रोगबाट बचाउन लसुनको पात पिँधेर दानामा नियमित दिन सकिन्छ । साथै बेसारको गानो पिँधेर पानीमा मिसाई नियमित खुवाउनाले ढुसीजन्य रोगबाट बचाउन सकिन्छ ।
बिफर आएमा :
मरिचको दाना पिँधेर धुलो खुवाउनाले बिफरको घातकता कम गर्न सकिन्छ । बिफरको घाउमा मरिचको धुलोको लेप प्रयोग गर्न सकिन्छ । खोर्सानीको धुलो दानामा मिसाएर खान दिँदा पनि रोग निको हुन्छ ।
रानीखेत :
रानीखेत कुखुराको घातक रोग हो । यसको उपचार सम्भव छैन । यसबाट बचाउन रोग लाग्नुपूर्व खोप लगाउनु नै यसबाट बचाउने एक मात्र उपाय हो । कुखुराको लक्षण अनुसार रुघाखोकी झाडा पखालाजन्य लक्षणको उपचार गरी यसको घातकता कम गर्न सकिन्छ ।
घाउखटिरा :
खुला ठाउँ हिँड्दा कुखुरालाई विभिन्न खाले चोट पटक लाग्ने गर्दछ । कहिलेकाहीँ कुखुरा आपसमा लड्दा ठुङाठुङ गर्दा पनि चोटग्रस्त हुन्छन् । यी घाउ अन्य जीवाणुका सङ्क्रमणका कारण बिग्रन सक्छन् । त्यसको उपचारका लागि लसुनको पात बेसारको गानो बराबर मात्रामा पिँधेर नरिवलको तेलमा मिसाएर लेप बनाई घाउमा लगाउन सकिन्छ । काठको धुलो नीमको पातको पिँधेर बनाएको लेप, बरको चोपको लेप लगाएमा औसा किरा मार्छन् । पिँधेको बेसारको धुलो लेपले घाउ चाँडै निको पार्छ । काँचो आट पिँधेर लागउनेले औसा बाहिर आउँछन् । डा केदार कार्की