ताजा खबर

नेपालमा कृषि पत्रकारिताको सम्भावना खोज्दै अशिम सापकोटा

10 months ago

301 views

नेपालमा कृषि पत्रकारिताको सम्भावना खोज्दै अशिम सापकोटा

नेपालको कृषि क्षेत्र उत्पादनको स्रोत मात्र नभई, हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। यद्यपि, आधुनिक प्रविधि, बजार पहुँच र सही सूचनाको अभावमा धेरै किसानहरू अझै पनि विभिन्न कठिनाइसँग जुधिरहेका छन्। यस्तो चुनौतीपूर्ण अवस्थामा, कृषि पत्रकारिता एउटा प्रभावकारी सेतु बनेको छ, जसले तथ्यपूर्ण र किसानमैत्री सूचनामार्फत उत्पादनदेखि बजारसम्म उनीहरूको यात्रालाई सहज बनाउन सक्छ। यही क्षेत्रमा डेढ दशकभन्दा बढी समयदेखि रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन माध्यमबाट सक्रिय एक अग्रणी कृषि सञ्चारकर्मी हुन्, अशिम सापकोटा। एग्रो टाइम्स मिडिया नेटवर्कका प्रबन्ध निर्देशकका रूपमा उनले ‘एग्रो टाइम्स’ मासिक पत्रिका, टेलिभिजन र रेडियो कार्यक्रममार्फत कृषक, विज्ञ, नीति निर्माता र बजारबीच बलियो सञ्चार मञ्च निर्माण गरेका छन्। प्रस्तुत छ, उनै सापकोटासँग कृषि पत्रकारिताको महत्त्व, आवश्यकता, सम्भावना, चुनौती र युवा जागरणबारे गरिएको विस्तृत कुराकानीको सम्पादित अंश :

कृषि पत्रकारितालाई कसरी परिभाषित गर्नुहुन्छ र यसको मुख्य उद्देश्य के हो ?
कृषि पत्रकारिता भनेको कृषि क्षेत्रसँग सम्बन्धित समाचार, तथ्याङ्क, अनुसन्धान, प्रविधि, बजार अवस्था, नीति–नियम तथा किसानका अनुभवहरूलाई सङ्कलन, विश्लेषण र प्रसारण गर्ने विधा हो। यसको प्रमुख उद्देश्य किसानसम्म सही, समयमै र सहज भाषामा सूचना पुर्‍याउनु हो, जसले उनीहरूको उत्पादन क्षमता बढाउन, आयआर्जन सुधार गर्न र जीवनस्तर उकास्न प्रत्यक्ष सघाउँछ।

नेपालजस्तो कृषि प्रधान देशमा कृषि पत्रकारिताको आवश्यकता कत्तिको देख्नुहुन्छ ?
नेपालको करिब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आश्रित छन् तर, अधिकांश किसानहरू अझै पनि परम्परागत खेती प्रणालीमा निर्भर छन्। मौसम पूर्वानुमान, रोग–कीरा नियन्त्रण, बीउ–बिजन, मलखाद र बजार मूल्यजस्ता महत्त्वपूर्ण जानकारी समयमै नपाउँदा उनीहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको छ। कृषि पत्रकारिताले किसानलाई यथार्थपरक तथ्य, सफलताका कथा र नीतिगत जानकारी प्रदान गरी उनीहरूको निर्णय क्षमता बढाउँछ, जुन नेपालको कृषि रूपान्तरणका लागि अपरिहार्य छ।

नेपालमा कृषि पत्रकारिताको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
पछिल्लो दशकमा कृषि पत्रकारिताको विकास उत्साहजनक छ, तर यो अझै पनि सीमित दायरामा छ। छापा, रेडियो र टेलिभिजनमा कृषि सामग्रीहरू प्रसारण भए पनि तिनको पहुँच र प्रभावकारिता बढाउनुपर्ने देखिन्छ। अधिकांश ठूला सञ्चारमाध्यमले कृषि समाचारलाई प्राथमिकतामा राखेको पाइँदैन।ृछ तर, खुसीको कुरा, पछिल्लो समय कृषि क्षेत्रको प्रवर्द्धनकै लागि विशेष सञ्चारमाध्यमहरू खुल्ने क्रम बढेको छ। हामीले एग्रो टाइम्स मिडियामार्फत यही आवश्यकतालाई केन्द्रमा राखेर रेडियो र टिभीका कार्यक्रमहरु सहित डिजिटल माध्यम र प्रोत्साहनका कार्यक्रमहरूलाई सँगै अगाडि बढाएका छौं।

कृषि पत्रकारिताले किसानलाई प्रत्यक्ष रूपमा के–कस्ता फाइदा पुर्‍याउँछ ?
यसमार्फत किसानले मौसम पूर्वानुमान, रोग–कीरा नियन्त्रण, उन्नत प्रविधि, बजार मूल्य र सरकारी अनुदानजस्ता महत्त्वपूर्ण जानकारी समयमै पाउँछन्। यसले उनीहरूलाई उत्पादन लागत घटाउन, उत्पादन बढाउन र बजारमा उचित मूल्य पाउन मद्दत गर्छ। साथै, सफल किसानका प्रेरणादायी कथाहरूले अन्य किसानमा नयाँ प्रविधि अपनाउन र व्यावसायिक बन्न हौसला प्रदान गर्दछ, अनी यस क्षेत्रमा लाग्न चाहनेहरुको लागि सहि मार्गदर्शक बन्न सक्ने कुरामा समेत कृषि पत्रकारीताले साथ दिन सक्छ ।

यस क्षेत्रमा विद्यमान प्रमुख चुनौतीहरू के–के हुन् ?
कृषि पत्रकारितामा स्रोत र साधनको कमी एउटा प्रमुख चुनौती हो। मूलधारका सञ्चारमाध्यमले कृषि समाचारलाई कम प्राथमिकता दिनु, ग्रामीण क्षेत्रमा सूचनाको पहुँच सीमित हुनु र दक्ष कृषि पत्रकारको अभावजस्ता समस्याहरू पनि छन्। यस्ता कठिनाइका बाबजुद यो क्षेत्रमा निरन्तरता र प्रतिबद्धता आवश्यक छ, किनकि कृषि पत्रकारिता समाचार मात्र होइन, राष्ट्रको समृद्धिसँग जोडिएको महत्त्वपूर्ण दायित्व हो।

चुनौतीका बीच अवसर र सम्भावनाहरू के देख्नुहुन्छ ?
नेपालको कृषिमा जैविक उत्पादन, निर्यातयोग्य वस्तु र कृषि–पर्यटनजस्ता क्षेत्रमा अपार अवसरहरू छन्। डिजिटल प्रविधि, अनलाइन प्लेटफर्म र मोबाइल एपमार्फत किसानसम्म छिटो र प्रत्यक्ष सूचना पुर्‍याउने सम्भावना असीमित छ। साथै, अन्तर्राष्ट्रिय बजारसँगको पहुँचले नेपाली कृषि पत्रकारितालाई अझ प्रभावकारी र विश्वस्तरीय बनाउन सकिन्छ।

युवा पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न के गर्न सकिन्छ ?
युवालाई कृषि पत्रकारितामा आकर्षित गर्न व्यावहारिक तालिम, इन्टर्नसिप र स्थलगत रिपोर्टिङका अवसरहरू दिनुपर्छ। उनीहरूलाई आधुनिक प्रविधि, मल्टिमिडिया र डिजिटल सामग्री उत्पादनका सीपहरू सिकाउनु आवश्यक छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, कृषिलाई ‘पुरानो पेसा’ नभई ‘आधुनिक, सम्भावनायुक्त र सम्मानजनक व्यवसाय’ का रूपमा प्रस्तुत गर्नुपर्छ, जसले युवामा यस क्षेत्रमा भविष्य बनाउने प्रेरणा जगाउँछ।

तपाईं कृषि सूचना नै शक्ति हो भन्नुहुन्छ, यसलाई प्रस्ट्याइदिनुहोस् न।
‘सूचना नै शक्ति हो’ भन्ने मान्यता कृषिमा पूर्ण रूपमा लागू हुन्छ। सही सूचना पाउने किसानले सही समयमा सही निर्णय गर्न सक्छ। जब किसानले मौसम, नयाँ प्रविधि र बजारको सटीक जानकारी पाउँछन्, उनीहरूको उत्पादन र आम्दानी दुवै बढ्छ। सूचनाको अभावमा उनीहरू जोखिम र घाटामा पर्न सक्छन्। तसर्थ, समयमै र सही जानकारी किसानसम्म पुर्‍याउनु नै कृषि पत्रकारिताको मूल मर्म हो।

एग्रो टाइम्स मिडिया नेटवर्कको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
एग्रो टाइम्स मिडिया नेटवर्क विगत १५ वर्षदेखि कृषि पत्रकारितामा समर्पित छ। हामीले पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन प्लेटफर्ममार्फत लाखौं किसानसम्म सूचना पुर्‍याएका छौं। साथै, ‘कृषि अवार्ड’ र युवा प्रोत्साहनजस्ता कार्यक्रम तथा तालिममार्फत किसानको सम्मान र सीप विकासमा योगदान दिँदै आएका छौं।

अन्त्यमा, कृषि पत्रकारिताको भविष्य र तपाईंका आगामी योजना के छन् ?
हामी हाम्रा कार्यक्रमहरूलाई समयसापेक्ष परिमार्जन गर्दै कृषि पत्रकारितालाई अझ बढी डिजिटल–केन्द्रित बनाउन चाहन्छौं। मोबाइल एप, युट्युब च्यानल र अनलाइन प्लेटफर्ममार्फत किसानसँग प्रत्यक्ष र प्रभावकारी रूपमा जोडिने हाम्रो लक्ष्य छ। साथै, स्थानीय भाषामा सामग्री उत्पादन गरी ग्रामीण तहसम्म सूचनाको पहुँच विस्तार गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको कृषि ब्रान्ड स्थापित गर्न योगदान पुर्‍याउने हाम्रो योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?