ताजा खबर

धान बालीको पातको रोग

1 year ago

43 views

मौसमलाई मध्यनजर गर्दै धान बालीमा पातको फेद डढुवा रोग / सिथ ब्लाइट (Sheath Blight) समस्या समेत आउन सक्ने सम्भावना भएकोले उक्त रोग सम्बन्धी जानकारी र व्यवस्थापनका उपायहरु बारे जानकारी गराँउदै सम्पूर्ण कृषक वर्गहरुलाई सचेत रहन आग्रह गरिन्छ।

रोगको जिवाणुः- राइजोक्टोनीया सोलानी (Rhizoctonia solani)

रोग लाग्ने अवस्था: गाँज आउने (Tillering) देखि बाला लाग्ने (Heading) अवस्थासम्म

रोग फैलिने उपयुक्त अवस्था:

• तापक्रमः २८-३२ डिग्री सेल्सियस

• उच्च सापेक्षिक आर्द्रता (८५% भन्दा बढी)

• लगातार वर्षा

• धानको नजिक रोपाई (बाक्लो रोपाई)

• माटोमा नाइट्रोजन तत्वको उच्च मात्रा

• रोग देखिएको बालीको अवशेष

रोगको जिवाणुको श्रोतः विउ, घाँसे झारपातहरु र रोगग्रस्त बालीका ठुटाहरुमा रहेका ढुसीका sclerotial bodies बाट।

रोग फैलावटको माध्यमः पानी, हावा, विउ, माटो।

रोगका लक्षणहरुः

पातको फेदमा अण्डाकार खैरौ हरियो रंगको थोप्लाहरु देखिन्छन्। पछि यी थोप्लाहरुको आकारमा वृद्धि भई बेआकारको बन्दछ। प्रकोप बढी भएमा यी थोप्लाहरुपातमा समेत पुग्छन् र पुरै पात डढ्छ। फलस्वरुप पूरै बोट डढेको जस्तो देखिन्छ।

रोग व्यवस्थापनका उपायहरुः

• रोगमुक्त स्वस्थ बिउको प्रयोग गर्ने।

• अघिल्लो बालीका ठुटा, पराल तथा बैकल्पिक आश्रय झारपातहरु हटाउने वा जलाउने।

• माटो परिक्षण नतिजाका आधारमा सन्तुलित मात्रामा मलखाद्यको प्रयोग गर्ने। नाईट्रोजनयुक्त मलखाद्यको बढी प्रयोगले विरुवाको वनस्पतिक बृद्धी धेरै भई

  रोगले सजिलै आक्रमण गर्न सक्छ। साथै पोटास मलको प्रयोगमा विशेष जोड दिने।

• खेतमा नियमित पानी नजमाउने। बेला बेला खेतमा पानी सुकाउने। पानीको निकासको राम्रो व्यवस्था मिलाउने।

• धान बाक्लो नरोप्ने।

• कार्वेन्डाजिम ५०% WP विषादी २ ग्राम प्रति के.जी. विउमा मिसाएर विउ उपचार गर्ने।

• निमको पिना ५ केजी प्रति कठ्ठा र गोठेमल/कम्पोष्ट ४०० केजी प्रति कठ्ठाको दरले प्रयोग गर्दा निकै उपयोगी पाइएको छ।साथै जैविक विषादी ट्राइकोडर्मा

  भिरिडिको प्रयोगले समेत यो रोग नियन्त्रण गर्न मद्दत गर्दछ।

• रोगको प्रकोप बढि भएमा रसायनिक विषादी जस्तै- भ्यालिडामैसिन ३% L (Validamycin 3% L) २.५ मि.लि. अथवा प्रोपिकोनाजोल २५% EC

   (Propiconazole 25% EC) १ मि.लि. प्रति लिटर पानीका दरले मिसाएर स्प्रे गर्नु पर्दछ।

रसायनिक विषादी प्रयोग गर्दा अनिवार्यर रुपमा सुरक्षित पहिरन (मास्क, पन्जा, गमबुट, शरिर पुरा ढाक्ने कपडा) को प्रयोग गरौँ। सिफारिस मात्रा भन्दा वढी विषादी प्रयोग नगरौँ। एक भन्दा बढी विषादी एकै पटक मिसाएर प्रयोग नगरौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?