काठमाण्डौ, २९ पुष । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा. च्यू डोङ्गज्यूले वातावरणलाई कम क्षति पुर्याएर उच्च कृषि आम्दानी लिनुपर्ने बताएका छन् । शनिवार काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकाको महादेवस्थानका किसानसँग कुरा गर्दै उनले असल कृषि अभ्यास जारी राख्न सुझाव दिएका हुन् ।
डोङ्गज्यूले कम लगानीमा बढी भन्दा बढी फाइदा लिन किसानलाई प्रविधिमा अभ्यस्त बनाउनु आवश्यक रहेको र एफएओ त्यसका लागी तत्पर रहेको बताए । पर्यावरणीय चक्रलाई नबिथोली प्राकृतिक रूपमा उपलब्ध जैविक प्रविधिलाई प्रयोग गरेर अर्ग्यानिक खेती प्रणालीको विकास गर्नुपर्नेमा उनले जोड थियो ।
डोङ्गज्यू तीन दिने नेपाल भ्रमणका लागी गत बिहीबार नेपाल आएका हुन् । उनले नेपालका उच्च अधिकारीहरूसँग भेटघाट गरेका छन् । एफओएले सञ्चालन गरेका विभिन्न कार्यक्रमको निरीक्षण गर्नेक्रममा शनिवार उनी किसानका खेत पुगेका हुन् । काभ्रेका विभिन्न भेगका किसानलाई एफओएले रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक खेती प्रणालीको विकासमा जोड दिन प्राविधिक सहयोग पुर्याउँदै आएको छ । कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले यस क्षेत्रका किसानले कार्यक्रम मार्फत प्राप्त गरेको नतिजा किसानबाटै आएको बताए ।
महादेवस्थानका किसानहरूले विभिन्न समूह बनाएर असल कृषि अभ्यासमा जुटेका छन् । उनीहरूले घरमै उपलब्ध हुने जैविक पदार्थलाई उपयोग गरेर रोग किराको व्यवस्थापनमा लागेको महादेवस्थानकी किसान शारदा आचार्यले जानकारी दिइन् ।
मण्डलदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले उत्पादनमा प्रविधिक विस्तारसँगै बजारीकरण नभए किसानले लाभ लिन नसक्ने बताए । उनले किसानले अधिक लाभ लिने गरि खेती विकास गर्ने बारे स्थानीय सरकार गम्भीर भएको तर सीमित स्रोत र साधन अपर्याप्त हुने भएकाले एफओए र संघीय सरकारले प्राविधिक विस्तारमा सहयोग गर्न आग्रह गरे । प्रमुख वाइवाले उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या भइरहेको हुँदा व्यवस्थित शीतभण्डारको तत्काल आवश्यता रहेको औल्याए ।
किसान समूहका अध्यक्ष महेश्वर दाहालले एफओएको कार्यक्रम संचालनपूर्व यस क्षेत्रका किसानले अन्धाधुन्ध रासायनिक मलको प्रयोग गर्दा अल्पकालिन र दीर्घकालिन समस्या भोग्नुपरेको बताए । हाल सचेतनामूलक विभिन्न कार्यक्रमले जैविक खेतीतर्फ किसानहरु लागि परेको हुँदा स्वास्थ्य सचेतनासँगै कृषि आम्दानीमा बृद्धि हुन थालेको बताए ।
यस भेगका वि।सं। २०५५ सालदेखि एकीकृत शत्रु जीवन व्यवस्थापन कार्यक्रम (आइपिएम्) लागू भएको हो ।