ताजा खबर

इलाममा उत्कृष्ट किसानको रूपमा पूर्व सैनिक देउकुमार राई सम्मानित

1 week ago

35 views

इलाममा उत्कृष्ट किसानको रूपमा पूर्व सैनिक देउकुमार राई सम्मानित

ब्रिटिस सेनाको जागिरपछि माटोमा पसिना

इलाम । ‘चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२’ को अवसरमा इलामका सफल कृषक देउकुमार राई सम्मानित हुनुभएको छ । कृषि ज्ञान केन्द्र इलामद्वारा आयोजित विशेष अन्तरक्रिया तथा कृषक सम्मान कार्यक्रममा उहाँलाई जिल्लाकै उत्कृष्ट किसानको रूपमा सम्मान गरिएको हो ।
१८ वर्षसम्म ब्रिटिस सेनामा सेवा गरेर स्वदेश फर्कनुभएका राई विगत एक दशकभन्दा लामो समयदेखि व्यावसायिक कृषिमा क्रियाशील हुनुहुन्छ । वि.सं. २०७० सालदेखि इलाममा व्यावसायिक किवी खेती सुरु गर्नुभएका उहाँको लगनशीलता, आधुनिक कृषि अभ्यास र कृषिमार्फत समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै ज्ञान केन्द्रले उहाँलाई सम्मान गरेको हो ।
सम्मान प्रदान गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राईजस्ता किसानहरू राष्ट्रका गौरव र प्रेरणाका स्रोत भएको बताउनुभयो । “विदेशी भूमिमा आर्जेको सीप र अनुभवलाई आफ्नै माटोमा सिञ्चित गरी सफल हुनु गौरवको विषय हो,” प्रजिअ ढकालले भन्नुभयो, “कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकारी निकायको समन्वयसँगै सफल किसानलाई राज्यले विशेष प्रोत्साहन दिनुपर्छ ।”
कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका प्रमुख रवि किरण अधिकारीले देउकुमार राईको कृषि यात्रा युवा पुस्ताका लागि मार्गदर्शक रहेको उल्लेख गर्नुभयो । उहाँले कृषि जैविक विविधताको संरक्षण र व्यावसायिक उत्पादनमा सफल किसानको भूमिका महत्त्वपूर्ण हुने बताउँदै ज्ञान केन्द्रले किसानको प्रवर्द्धनमा सधैं साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
सम्मानित व्यक्तित्व देउकुमार राईले समाजमा व्याप्त ‘पढेकाले कृषि गर्नुहुँदैन’ भन्ने पुरातन भ्रमलाई चिर्नु जरुरी रहेको बताउनुभयो । “अझै पनि हाम्रो समाजमा कृषि गर्नेलाई बौद्धिकतासँग जोडेर हेरिँदैन, यो सोच बदल्न आवश्यक छ,” राईले भन्नुभयो, “कृषिलाई सम्मानित र नाफामूलक पेसा बनाउन सरकारले नीतिगत सुधारसँगै प्रविधिमा लगानी बढाउनुपर्छ ।”
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, कृषि प्राविधिक, स्थानीय कृषक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?