ताजा खबर

काठमाण्डुसहित देशैभर आलु र प्याजको बिक्री रोकियो

1 year ago

33 views

काठमाण्डु, २१ मंसिर– व्यापारीले काठमाण्डुसहित देशका ठूला तरकारी बजारमा आलु र प्याजको बिक्री रोकेका छन् ।

कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यापारीले बिक्री बन्द गरेका हुन् । भ्याट फिर्ता लिनुपर्ने माग राखेर व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेपछि बजारमा अभाव हुने देखिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समिति अध्यक्ष गीताप्रसाद आचार्यले बुधबारदेखि आलु र प्याजको कारोबार बन्द भएको बताए । उनका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु र प्याजका स्टल खाली हुन थालेका छन् ।

चालू आर्थिक बर्ष ०८०/८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था गरिएको थियो । बजेट आएलगत्तै व्यवसायीले उक्त व्यवस्थाको विरोध गरेका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा देशभित्र उत्पादितलाई नभई बाहिरबाट आयातित आलु र प्याजमा मात्र भ्याट लगाइने गरी कार्यविधि ल्याइने प्रतिबद्धता जनाएका थिए ।

पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् ।

काठमाण्डु उपत्यकामा दैनिक ७० हजार किलोग्राम आलु र ३० हजार किलोग्राम प्याज खपत हुने गरेको छ ।  kathmandu today

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?