ताजा खबर

नेपाल सरकार द्वारा घातक विषादीमा प्रतिबन्ध

2 years ago

273 views

काठमाडौं । मानव शरीर र वातावरणका लागि घातक मानिएका पाँच प्रकारका विषादी सरकारले प्रतिबन्ध लगाउने भएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको सचिव नेतृत्वको विषादी समितिले त्यस्ता विषादी आयात, उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

 

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माका अनुसार कार्वोफ्युरान, गाइक्लोरोवस, ट्राइजोफोस, कार्बाराइल र गेनोमाइल नामक विषादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। ‘विषादी समितिले प्रतिबन्ध लगाउने निर्णय गरिसकेकाले अब राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइनेछ।

यी विषादीमा कार्सेनोजिक तत्व अत्यधिक भेटिएको छ। कार्सेनोजिक तत्वले क्यान्सरजन्य रोग निम्त्याउन ठूलो भूमिका खेल्ने गर्छ। छिमेकी मुलुक भारतसहित अन्य तेस्रो मुलुकमा यो विषादीमाथि प्रतिबन्ध लागेको लोमो समयपछि नेपालले प्रतिबन्ध लगाउने निर्णय गरेको हो। मुख्यगरी खाद्यान्न तथा तरकारी बालीमा यस्ता विषादी प्रयोग हुँदै आएको थियो। यसअघि सरकारले १६ प्रकारको अत्यन्त घातक विषादीमाथि प्रतिबन्ध लगाएको थियो।खाद्यान्न तथा तरकारीबालीमा अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको विषादीको व्यवस्थित र सुरक्षित प्रयोग गर्ने उद्देश्यले सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन २०७५ को मस्यौदा तयार पारिसकेको छ। केन्द्रका अनुसार यो ऐनको मस्यौदा कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले सोमबार संघीय व्यवस्थापिका संसद्मा स्वीकृतका लागि प्रस्ताव गर्दै छन्। केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा यो जानकारी गराइएको हो। सरकारले सोमबारदेखि देशव्यापी रुपमा विषादी प्रयोग मुक्त सप्ताह मनाउने तयारी गरेको छ। पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादी मुक्त कृषिको आवश्यकता नाराका साथ यो बर्ष काभ्रेमा विभिन्न कार्यक्रमको आयोजना गरी यो सप्ताह मनाउने तयारी गरिएको हो।

प्रतिबन्ध लगाइएका विषादीमा कार्वोफ्युरान, गाइक्लोरोवस, ट्राइजोफोस, कार्बाराइल र गेनोमाइल छन्।

मस्यौदामा आफूखुसी विषादी बिक्रीवितरण गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था गरेको छ। ऐनमार्फत प्रतिबन्धित विषादी बिक्रीवितरण गर्ने व्यवसायी, आयातकर्ता, भण्डारणकर्ता तथा उत्पादनकर्तालाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानासँगै एक वर्षको कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?