सुनसरीका किरण बस्नेत अहिले बराहक्षेत्र नगरपालिका –६ स्थित कृषि फार्ममा व्यस्त भेटिन्छन् । दुइ तीन बिघा जमिन भाडामा लिएर उनले २ जना साथीहरूसँग मिलेर मेवा खेती गरिरहेका छन् । कृषिमा नवीतम काम गर्दै आएका बस्नेतले यस अघि च्याउ खेती गर्दै आएका थिए । अहिले थप मेवा खेती गर्दै आएका छन । अहिले बिक्रीवितरणको लागी तयार भएको मेवा बजारीकरणमा ब्यस्त छन उनि।”
‘मेवा घरगाउँ जताततै फलेको हुन्छ, खाने गरिन्छ । तर व्यावसायिक रूपमा खपत हुने मेवा ठूलो परिमाणमा भारतबाट आउने गरेको छ । देशभित्रै उत्पादन बढाए खपत पनि हुने देखेर यता लागेको हो,’ बस्नेतले भने । मेवाको बजार खोज्ने लागी परेका छ्न । साथै उत्पादनका लागि फिल्डमा किरण धेरै खट्छन् । गत फागुनमा ताइवानबाट बीउ ल्याएर रोपेका थिए । दसैंपछि फल टिपेर बेच्न सुरु भएको छ । होचा रुखमा लटरम्म फलहरू लागेका छन् । सुरुवाती बिक्रीले उत्साह दिएको किरणले बताए । एउटा रुखले बढीमा दुई वर्षसम्म उत्पादन दिन्छ । तर फलको अवस्था हेरेर एकै वर्षमा फेर्ने योजना रहेको उनले सुनाए । उनका अनुसार दसैंयता ३ टन मेवा बिक्री भइसकेको छ । चैतसम्म ४० टन फल्ने आशा उनीहरूको छ ।
‘८० रुपैयाँ किलोमा बिक्री सुरु भएको थियो । यो भनेको राम्रो मूल्य हो तर सधैं यस्तो हुँदैन । भारतीय मेवा आउन सुरु भएपछि मूल्य धेरै नै तल जान्छ । बिक्री भइराखेमा लगानी अनुरूपको आर्जन लिन गाह्रो छैन,’ किरणले भने । उनका अनुसार भारतीय मेवा निकै सस्तो मूल्यमा नेपाल भित्रिन्छ । तुलनात्मक रूपमा स्वाद उत्कृष्ट नभए पनि हेर्दा राम्रो देखिने र सस्तो हुने भएका कारण व्यापारीले भारतीय मेवा नै रोज्ने गर्छन् ।
‘भारतीय मेवा हुँदाहुँदै नेपालको मेवा लिन नसकिने व्यापारीले बताएका थिए । हामीले खेतीको सुरुवातदेखि फल टिप्दासम्मको सवै विवरण भएको भिडियो देखाएपछि उनीहरूले ‘ल्याउनु न कटेसम्म राख्छौं’ भने । त्यसरी पठाएको मेवा बिक्री भएर नै होला मगाइरहनु भएको छ,’बस्नेतले भने । नेपालमा मेवा खेती ठूलो परीमाणमा हुन सकेको छैन । मिहिनेत र लागत अनुरूपको मूल्य आए यसमा अरू आकर्षित हुने उनले देखेका छन् ।
‘यसमा सरकारले सहयोग गर्नु पर्छ । सरकारी सहयोग भनेको अनुदान मात्र हैन । बजार निश्चित गर्ने हो । नेपाली मेवाको फाइदाका बारेमा प्रचार गर्ने, बिक्री हुने वातावरण, योजना र नीति सरकारले बनाए फलाउने, मिहिनेत गर्ने काम हामी किसानहरूले गरिहाल्छौं । मूल्य पाए, बिक्री भए खेती जसले नि गर्छ, मात्र हामीलाई साथ र हौसला चाहिएको छ,’ किरणले भने ।