ताजा खबर

तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर

1 year ago

59 views

तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर

अर्घाखाँची:  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो  मात्रै अहिले एक हजार आठ सय बोट लगाउनुभएको छ । सबै बोटमा लटरम्मै काँक्रो  फलेको छ ।

हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गर्नुभएका उहाँले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा  लगाएको काँक्रो  खेतीबाट यो याममा रु. सात लाख बराबरको काँक्रो  उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । दैनिक तीन÷चार क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी रु. ८० देखि रु. ९० सम्म थोक मूल्यमा काँक्रा बिक्री गर्नाका साथै दैनिक रु. दस हजार बराबरको अन्य तरकारी पनि सन्धिखर्क बजारमा बञ्जाडेले बिक्री गरिरहनुभएको छ ।

उहाँले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आउनुभएको छ । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा रु. २०  लाख आम्दानी हुँदै आएको छ । बञ्जाडेले गरेको देखासिकीबाट सिङ्गो गाउँवासी नै अहिले तरकारी खेतीमा लागेका छन् ।

उहाले भन्नुभयो, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर ईर्ष्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।” बञ्जाडे जिल्लाकै नमुना कृषक हुनुहुन्छ । सामान्य परिवारमा जन्मनुभएका उहाँलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुःखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाउनुभएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपियाँ कमाउँदै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “गरेपछि जुन काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीे सुरुआत गर्नुभएका उहाँलाई रु. पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । तरकारीबाट वर्षमा रु. १०÷१५ लाख सजिलै कमाएपछि बञ्जाडेले रु. तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसक्नुभएको छ । यिनै भीरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उहाँले बताउनुभयो ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ । बारीमा आकाशे पानी सङ्कलन गर्न ५० हजार लिटरको पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाउनुभएको छ । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिइएकाले  धेरै यतातिर तानिएका छन् ।

बर्सात्को समयमा उहाँले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । “अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा बढी गर्व भयो,” पुष्करनाथले भन्नुभयो, “पहाडको तरकारी पोसिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्‍याए ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?