ललितपुर । किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा बिक्री गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीक्षण सुरु गरेको छ ।
उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको शर्माको भनाइ छ । “कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारी/फलफूल बिक्री हुनसक्ने देखियो,” उहाँले भन्नुभयो ।
कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा दुई वर्षदेखि विषादी अवशेष द्रूत विश्लेषण इकाइको स्थापना गरेर नियमित परीक्षण गरिँदै आएको छ । परीक्षण सुरु हुँदा दैनिक तीन/चार वटासम्म नमुनामा विषादी पाइए पनि अहिले महिनाको एक/दुईवटा नमुनामा मात्रै विषादी पाइन थालेको शर्मा बताउनुहुन्छ । नेपालमा अत्यन्त घातक मानिने १६ वटा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्देशनालयले जनाएको छ ।