पर्सा — पर्सा राष्ट्रिय निकुञ्चको अमलेखगन्ज हात्तीसारमा रहेको एक मात्र हात्ती गौरीकलीको मृत्यु भएको छ । ६९ वर्षिया गौरीकलीको सोमबार दिउँसो मृत्यु भएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतका अनुसार गौरीकली घटस्थापनाको दिन अशक्त भई लडेयता उठन सकेको थिएन ।
वृद्धावस्था र अशक्तताको कारण उसको मृत्यु भएको भगतले बताए । नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रुपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्यपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोष्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सदगत गरिएको थियो ।
भगतका अनुसार, निकुञ्जको रेकर्डले सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको हो । हात्तीसारका पूर्व नासु तथा हाल हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा कार्यरत मनपुरन चौधरीले भारतबाट ल्याइएको गौरीकली अमलेखगन्ज हात्तीसारकै सबैभन्दा बलियो हात्ती मध्ये एक रहेको बताए । हात्तिसारमा आएदेखि एकपटक भाले लागेपनि गौरीकलीले सन्तान नजन्माएको उनले बताए ।
करीब १० महिना अघिदेखि गौरीकली अमलेखगन्ज हात्तीसारमा एक्लै बस्दै आएको थियो । हात्तीसार वरपर आउने गरेको जंगली हात्ती यमगजले हात्तीसारका हात्तीहरुलाई आक्रमण गर्ने र ढोईहरुलाई जर्बजस्ती संसर्ग गर्न थालेपछि निकुञ्ज प्रशासनले हात्तीसारका सबै हात्तीलाई त्यहाँबाट करिब ६० किमी पश्चिम प्रतापपुर पोष्टमा लगेर राखेको छ । गौरीकली भने अशक्त भएर हिंड्न नसकेपछि उसलाई अमलेखगन्ज हात्तीसार फिर्ता ल्याएर राखिएको थियो ।
गौरीकलीको पनि मृत्यु भएपछि अब अमलेखगन्ज हात्तीसार हात्तीविहिन भएको छ । जंगली हात्ती यमगज अझै पनि सक्रिय रहेकाले अब हात्तीसारमा कुन र कति हात्ती ल्याएर राखिन्छ त्यसको निर्णय निकुञ्ज प्रशासनले गर्न बाँकी छ । हात्ती अभावमा हात्तीसार र त्यस वरपरको पर्यटन गतिविधि पनि सुस्त हुँदै गएको छ ।
अमलेखगन्ज हात्तीसारमा १० हात्तीको दरबन्दी रहेको छ । तीनमा एक मत्ता र सबै ढोइ छन् । प्रत्येक हात्तीलाई ३ वटा कर्मचारीको दरबन्दी छ । त्यस अनुसार हात्तीसारमा अहिले ५ माहुते, ५ पछुवा र ५ फनैतको दरबन्दी छ । स्राेत कान्तिपुर